पहिरोले भत्किएको विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थी खुला आकाशमुनी पढ्न बाध्य


८ पुष २०७८, बिहीबार
student
फाइल फोटो

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।

पहिरोले भवन भत्किँदा विद्यार्थी खुल्ला आकाशमुनि पठनपाठन गर्न बाध्य छन् । गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराले विद्यालय भवन भत्किएको हो । विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताए । विद्यालयको सात कोठे भवन पहिराले भत्काएपछि निकै समस्या भएको छ । भवन नहुँदा विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् ।

कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ विद्यार्थी अध्ययनरत छन् । विद्यालय भत्केको ठाउँमा चौर समेत नभएकाले झण्डै एक किलोमिटर टाढाको खोला किनारको चौरमा पठनपाठन सञ्चालन गरिएको प्रधानाध्यापक चन्दले बताए । बालबालिकालाई खुला चौरमा राखेर पढाउनुपर्दा पठनपाठन कार्य समेत प्रभावित हुने गरेको छ । प्रधानाध्यापक चन्दले भने, ‘विद्यार्थीलाई पढाउनका लागि ह्वाइट बोर्ड राख्ने ठाउँ छैन, बालबालिकालाई घामपानी परेको बेला ओत लाग्ने ठाउँ पनि छैन । भएका सबै फर्निचर, कुर्सीलगायत सामग्री पनि पहिराले पुरिएका छन् ।’

दिनभरि घाम नलाग्ने बालबालिकालाई पठाउनुपर्दा समस्या भएको उनले बताए । घाम लागेको मध्यदिउँसो पनि चिसो हुने ठाउँमा बसेर पढ्नुपर्दा विद्यार्थीलाई कष्ट हुने गरेको छ । पहिरोले विद्यालयको सात कोठे भवन भत्काएको विषयमा गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइमा पत्राचार गरेर विवरण बुझाइएको भए पनि तीन महिनासम्म पहल नभएको प्राधानाध्यापक चन्दको गुनासो छ ।

गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइले भने विद्यालय पुनः निर्माणका लागि पहल भइरहेको बताएका छन् । गाउँपालिका उपाध्यक्ष वीना भट्टले विद्यालय पुनः निर्माणका लागि पहल भइरहेको र छिट्टै विद्यालय भवन निर्माण थालिने बताइन् । ‘विद्यालय भवन भत्किँदा समस्या भएकोबारे हामीलाई जानकारी आएको छ, गाउँपालिकासँग पर्याप्त बजेट नभएकाले प्रदेश र सङ्घ सरकारसँग माग गरेका छौँ,’ उनले भनिन् ।

यस्तै शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी पुष्कर शर्माले पनि क्षतिको विवरणबारे माथिल्लो निकायमा जानकारी गराएको बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७