‘पार्टी भन्दा देश माथि’ भन्दै रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा


८ पुष २०७८, बिहीबार

काठमाडौं । पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी त्यागेकी छन् । रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्य समेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् ।
अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् ।

सके राजनीतिमा फोहोर सफा गर्छु, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले भनेकी छन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूणर्रुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’

विवेकशील साझा पार्टीको सचिवालय सदस्य पदमा रहेकी दर्शनाले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर पनि पार्टी परित्याग गरेको जानकारी दिएकी छन् । उनले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा ‘अधिकतम ढोंग’ पाएको उल्लेख गरेकी छन् ।

‘वि.सं. २०७० बाट शुरु भएको राजनीतिक यात्रामा कैयौं उताव-चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ । तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग (जथउयअचष्कथ) पाएँ,’ उनले पत्रमा लेखेकी छन् ।

दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् । उनी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार समेत बनेकी थिइन् । निर्वाचनमा उनी तेस्रो स्थानमा रहिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७