एमाले अवरोधबीच वागमती प्रदेशसभा बैठक बस्दै

मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न सरकारलाई एमालेको माग


८ पुष २०७८, बिहीबार
bagmati

हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच बिहीबार पनि वागमती प्रदेशसभाको बैठक बस्ने भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा सरकारप्रति विभिन्न प्रश्न उठाउँदै एमालेले सदन अवरुद्ध गरेको थियो ।

प्रदेशमा रहेको विपक्षी दलहरुले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न चुनौती पेस गरेका थिए । प्रदेशसभामा विपक्षीमा रहेका एमाले, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाको संयुक्त बैठकले मन्त्रालय विभाजन, मन्त्री तथा राज्यमन्त्री थप गरिएको विषयको औचित्य सदनबाटै पुष्टि गर्न चुनौती दिएका थिए ।

‘सरकारले सदन खुलाउन प्रयास गरिरहेको छ । मुख्यमन्त्रीबाट विपक्षीले जवाफ माग्नु भएको छ । हामी दिन्छौं,’ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालका अनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभाको बिहीबारको बैठकमा विपक्षी दलहरुले उठाएको प्रश्नको जवाफ दिनेछन् ।

एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले सरकार सदनमा कसरी प्रस्तुत हुन्छ हेरेर आफूहरु निणर्य गर्ने बताए । ‘बैठकको सुरुवातमै मुख्यमन्त्रीले जवाफदिने सहमति भएमा हामी सदन सञ्चालन गर्न दिन्छौं । अन्यथा अवरोध हुन्छ,’ उनले सदनमा मुख्यमन्त्रीको जवाफ चित्तबुझ्दो नभए प्रदेशसभाको बैठक सञ्चालन गर्न नदिने बताए । ‘सरकारलाई बेलैमा खबरदारी गराउन हामीले यसो गरेका हौं । सरकार सदनप्रति जिम्मेवार हुनुपर्छ । संघीयतालाई संस्थागत रुपमा अगाडि बढाउन पनि प्रतिपक्षीले निरन्तर खबरदारी जरुरी रहेको छ,’ उनले भनिन् ।

प्रदेशसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने तयारी भइरहेको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अगाडि सर्वदलीय प्रतिनिधित्व रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । बैठकमा सहमति गरेर सदनलाई अगाडि बढाउने पक्षमा सरकार देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७