एमाले अवरोधका कारण आज पनि बागमती प्रदेशसभा वैठक स्थगित


८ पुष २०७८, बिहीबार
bagmati

हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (बिहीबार) वागमती प्रदेशसभा बैठक अवरुद्ध पारेको छ । विपक्षी दल नेकपा एमालेले सदनमा उठाएको प्रश्नको जवाफ सत्तापक्षले नदिने भएसँगै सदन अवरुद्ध गरिएको हो । एमालेले बुधबार पनि सदन अवरुद्ध गरेको थियो ।

सभामुख सानुकुमार श्रेष्ठले बैठक शुरुआत गरेसँगै विपक्षी दलले सदनमा उभिएर अवरोध सिर्जना गरेको थियो । सदनमा बोल्दै एमाले सांसद केशवराज पाण्डेले सदनमा विपक्षीले उठाएको प्रश्नको जवाफ नदिएर सरकार पन्छिन खोजेको आरोप लगाउँदै सदन सञ्चालन गर्न नदिने बताएका थिए ।

‘हामीले प्रदेश सरकारलाई प्रश्न गरेका छौं । तर, मुख्यमन्त्री सदनमै आउनु भएन । हामी सदन सञ्चालन गर्न दिँदैनौं,’ पाण्डेले भने । विपक्षीको अवरोधसँगै सभामुखले अर्को सूचना नभएसम्मका लागि सदनको बैठक स्थगित गरे ।

प्रदेशमा रहेको विपक्षी दलहरुले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न चुनौती पेस गरेका थिए । प्रदेशसभामा विपक्षीमा रहेका एमाले, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाको संयुक्त बैठकले मन्त्रालय विभाजन, मन्त्री तथा राज्यमन्त्री थप गरिएको विषयको औचित्य सदनबाटै पुष्टि गर्न चुनौती दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७