चीनका एक करोड ३० लाख मानिस फेरि लकडाउनमा


८ पुष २०७८, बिहीबार
10001640253638

काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणको प्रकोप बढेपछि उत्तरी सियान सहरका करिब एक करोड ३० लाख बासिन्दालाई घरमै बस्न आदेश दिएको छ ।

यही डिसेम्बर ९ तारिखयता उत्तरी सहरमा १४३ जनामा संक्रमण पुष्टि भएपछि ‘लकडाउन’ गरिएको हो । सियान सहर रहेको शान्सी प्रान्तमा लाखौँ परीक्षण गरिएका छन् । बुधबार घोषणा गरिएको नयाँ प्रतिबन्धानुसार अत्यावश्क वस्तु किनमेल गर्न प्रत्येक घरबाट दुई दिनमा एक जनालाई मात्रै निस्कन अनुमति दिइएको छ । सियानवासीहरू विशेष परिस्थितिमा बाहेक तथा अधिकारीहरूबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउने छैनन् ।

स्थानीय समयानुसार मध्यरातदेखि कार्यान्वयनमा आएको प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म कायम रहन्छ भन्ने खुलाइएको छैन । कोरोना भाइरस प्रकोप नियन्त्रण गर्न चीनले व्यापक परीक्षण र लकडाउन गरी कडा ‘जिरो-कोभिड’ राणनीति अपनाएको छ ।

आउँदो फेब्रुअरीमा विन्टर ओलम्पिक्स आयोजना गर्न लागेकोले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ । चीनले कोभिड-१९ विन्टर ओलम्पिक्सको ‘सबैभन्दा ठूलो चुनौती’ भएको स्वीकार गरेको छ । कोरोना भाइरसको प्रकोप चीनबाट नै सुरु भएको मानिन्छ । त्यहाँ अहिलेसम्म एक लाख १३ हजारभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ भने चार हजार ८४९ जनाको कोभिडसँग सम्बन्धित कारणबाट मृत्यु भएको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७