कांग्रेस महाधिवेशनको मतगणना सकियो, देउवालाई दुई तिहाइ


९ पुष २०७८, शुक्रबार
deuwa 1

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा समूहको दुईतिहाइ बहुमत आएको छ ।

निर्वाचित हुने एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिमा देउवा समूहका एक सय नौजना विजयी भएका छन् । दुईतिहाइका लागि निर्वाचित केन्द्रीय कार्यसमितिमा ९० जना भए पुग्छ । यसबाहेक केन्द्रीय कार्यसमितिमा कोइराला समूहका २२, सिंह समूहका दुई र कतै नखुलेका पूर्वमहामन्त्री शशांक कोइराला विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि गत २४ मंसिरमा सुरु भएको महाधिवेशनअन्तर्गत २७ मंसिरमा भएको मतदानको अन्तिम परिणाम बिहीबार सार्वजनिक भएसँगै निर्वाचित हुने केन्द्रीय कार्यसमितिको टुंगो लागेको हो । बिहीबार खस-आर्यतर्फको १३, आदिवासी-जनजातितर्फको १५ र दलिततर्फको नौ पदको परिणाम आएपछि कांग्रेसको निर्वाचित हुने केन्द्रीय समितिले पूणर्ता पाएको छ । यी तीन क्लस्टरबाहेक अन्यको मतपरिणाम यसअघि नै आइसकेको थियो ।

मतपरिणामअनुसार दलित खुलातर्फ पाँचमध्ये देउवा समूहका चारजना विजयी भएका छन् । एकजना भने कोइराला समूहका विजयी भएका छन् । दलित महिलातर्फ भने चार जना नै देउवा समूहका विजयी भएका छन् ।

यस्तै, आदिवासी-जनजाति खुलातर्फ आठमध्ये सातजना देउवा समूहका विजयी भएका छन् भने एकजना कोइराला समूहका विजयी भएका छन् । त्यस्तै, आदिवासी-जनजाति महिलातर्फ भने सातैजना देउवा समूहका विजयी भएका छन् । खस-आर्यको खुलातर्फ सातमध्ये ६ जना देउवा समूहका छन् भने महिलातर्फ ६ जनामध्ये पाँच जना देउवा समूह र एकजना कोइराला समूहका विजयी भएका छन् ।

सभापति चयनका लागि २८ मंसिरमा भएको दोस्रो चरणको निर्वाचनबाट देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । उनीसँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला निकटतम प्रतिस्पर्धीका रूपमा रहे । पहिलो चरणमा प्रतिस्पर्धामा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणको मतदानमा सभापतिमा देउवालाई समर्थन गरेका थिए ।

कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन आवश्यक खसेका कुल मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने व्यवस्था छ । सोहीअनुरूप २७ मंसिरमा भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त नगरेपछि २८ मंसिरमा पुनः मतदान भएको थियो ।

पदाधिकारीमा मात्रै देउवाको समूहका कुल १३ जनामध्ये आठजना विजयी भएका छन् । जसमा पदाधिकारीतर्फ उपसभापतिमा पूणर्बहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भए । सहमहामन्त्रीमा खस-आर्यबाट किशोरसिंह राठौर, महिलाबाट महालक्ष्मी उपाध्याय (डिना), थारूबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर, आदिवासी-जनजातिबाट भीष्मराज आङ्देम्बे, मधेसीबाट महेन्द्र यादव, दलितबाट जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे गरी आठजना निर्वाचित भएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७