कर्मचारी सरुवा स्थगित : तीन हजारभन्दा बढी निवेदन मन्त्रालयमा


९ पुष २०७८, शुक्रबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 2

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा तत्कालका लागि रोक्ने निणर्य गरेको छ । स्थानीय तह खाली हुने गरी दिनैपिच्छे निवेदन दर्ता गरेर सांसद र नेताहरूको दबाब दिन थालेपछि सरुवा स्थगितको निणर्य गरिएको स्रोतले बतायो ।

२०७६ मा लोक सेवा उत्तीर्ण गरेर स्थानीय तहका लागि नियुक्त भएका विभिन्न तहका ९ हजार ४ सयमध्ये मर्का परेकालाई कामकाजमा खटाउने अघिल्लो सरकारको गत फागुनको निणर्यअनुसार सरुवा सुरु गरिएको थियो । मन्त्रालय स्रोतका अनुसार झन्डै दुई हजार कर्मचारीलाई कामकाजमा खटाएपछि संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले तत्काल सरुवा रोक्ने निणर्य मंगलबार गरेका हुन् ।

‘धेरैले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा जस्ता सहरमा सरुवा हुन निवेदन दिएपछि दुर्गम त खाली हुने भयो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी सरुवाले कार्म गर्न नसकिने अवस्था आएको गुनासो गरे ।’

सरुवा हुन चाहने कर्मचारीले छाड्ने र जाने स्थानीय तहको सहमति पेस गर्नुपर्छ । यस्तो सहमतिका लागि स्थानीय तहमा बढी दबाब परेपछि नगरपालिका र गाउँपालिका प्रमुख तथा अध्यक्षहरूले नै मन्त्रालयसँग गुनासो गरेका थिए ।

मन्त्रालयले गत मंसिर २१ गते कर्मचारीको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरेको थियो । लोक सेवा आयोगको सिफारिसमा ‘एकै दिन ठूलो संख्यामा सरुवा भएको थियो । तत्कालीन संघीयमन्त्री गणेशसिंह ठगुन्नाको पहलमा स्थानीय तहका कर्मचारीको सरुवाका लागि २०७७ मा मापदण्ड बनाइएको थियो । निवेदन दिएकामध्ये स्थानीय तहका चार सयभन्दा बढी कर्मचारी सरुवा गरिएको थियो ।

पछि सरुवा रोकिएपछि विरोध हुँदै आएको थियो । त्यतिबेला रोकिएको सरुवा अहिले खुला गरिए पनि स्थानीय तहका कर्मचारीले सुगम र पायक पर्ने स्थान मात्र रोजेपछि स्थानीय तह सञ्चालनमै बाधा पुग्ने अवस्था आएको अधिकारीहरू बताउँछन् । मर्का परे पनि/नपरे पनि सरुवा गर्नैपर्ने दबाब बढेपछि बन्द गर्नुपरेको स्थानीय तह हेर्ने मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

सरुवाको माग गर्दै तीन हजारभन्दा बढी निवेदन मन्त्रालयमा दर्ता भएका छन् । ‘हामीले लगभग दुई हजार कर्मचारी सरुवा गरेका छौं,’ मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने, ‘जरुरी देखिएका र मर्कामा परेका कर्मचारीलाई कामकाजमा खटाइसकिएको छ ।’ तत्काल बन्द गरे पनि कसैले अनलाइनबाट निवेदन दिन चाहेमा नरोकिएको उनले बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७