नेपाल-भारतका सुरक्षा अधिकारीबीच दोहोरो नागरिकता लिनेमाथि निगरानी बढाउने सहमति


९ पुष २०७८, शुक्रबार
sima suraxya apf RhLULa2o6p

दार्चुला । भारत पिथौरागढको जोलजीविमा नेपाल-भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच बिहीबार समन्वयात्मक बैठक बसेको हो ।

जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ । बैठकको पहिलो एजेण्डा नेपाल-भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने राखिएको थियो। तेस्रो मुलुकका नागरिक भित्रिए/नभित्रिएको जानकारीका लागि दुवै देशका सुरक्षा निकायले सीमामा परिचयपत्र निगरानीमा कडाइ गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सीमा पुल खोल्ने विषयमा दुवै देशका सुरक्षा निकायबीच समन्वय गर्नुपर्नेमा बैठकले जोड दिएको छ । नेपाल-भारतसँग जोडिएका सबै झोलुङ्गे पुलबाट आवतजावत गर्ने नागरिकलाई कोरोना जाँच तथा कोरोना लागे/नलागेको सुनिश्चित गर्ने निणर्य बैठकले गरेको छ । नेपाल-भारत जोड्ने निर्माणाधीन बाकुस्थित झोलुङ्गे पुल निर्माणलाई चाँडो सम्पन्न गरी सञ्चालन गर्नुपर्नेमा पनि बैठकमा छलफल भएको छ ।

सीमामा हुने चोरी, तस्करी, लागुऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार, शङ्कास्पद सूचना आदान-प्रदान गर्नेबारे दुवै देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ । सीमा क्षेत्रमा नेपाल-भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा अपराध नियन्त्रणका लागि पेट्रोल गस्ती गर्ने विषयले पनि बैठकमा प्रवेश पाएको छ । दोहोरो नागरिकता लिएर बसेका नागरिकमाथि निगरानी गरी कानुनी कारबाही गर्ने विषयमा समेत सहमति बनेको सुरक्षा अधिकारीले जनाएका छन् ।

सीमा सुरक्षा बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटर दार्चुलाका गणपति नरेन्द्र बम, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट, सीमा चौकी तथा सशस्त्र प्रहरीका विभिन्न बोर्डर आउट पोष्टका प्रमुखको सहभागिता थियो ।
भारतका तर्फबाट ५५ बटालियन पिथौरागढका कमान्डेन्ट एसके शर्मा, जोलजीवि थानाका इन्स्पेक्टर प्रदीप कुँवरलगायत सुरक्षाकर्मीको उपस्थिति थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७