थानीय तहसम्मको जनगणनाको प्रतिवेदन प्रकाशनको तयारी


९ पुष २०७८, शुक्रबार
Janagadana

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको प्रतिवेदन पहिलोपटक स्थानीय तहसम्मको प्रकाशन गर्ने तयारी गरेको छ । विसं २०६८ सम्म जिल्लास्तरको तथ्याङ्कको मात्र प्रतिवेदन सार्वजनिक गरिन्थ्यो ।

राज्य सङ्घीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहको प्रतिवेदन प्रकाशन गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । वि.सं २०७८ को जनगणनाको फारम ७७ वटै जिल्लाबाट केन्द्रमा आइसकेको छ । प्राप्त फारामलाई परीक्षण र सम्पादन सकेर कम्प्युटरमा तथ्याङ्क राखिने उनले सुनाए । पुस मसान्तसम्म कम्प्युटरमा तथ्याङ्क प्रवेश गराउन थाल्ने विभागको तयारी छ ।

तथ्याङ्क प्रवेश गराउन सुरु गरेको ६ महिनाभित्र सक्ने गरी काम अघि बढाइने छ । चालू आवमा तथ्याङ्क प्रवेश गराइसकेर आगामी आवको सुरुमै प्रतिवेदन प्रकाशन गरिने लामिछानेले बताए । यस वर्षको जनगणनाको प्रतिवेदन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको अलगअलग सार्वजनिक गर्ने विभागको तयारी छ ।

गत वैशाखमा गणना गर्ने तयारी गरिएकामा नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणकले घरघर पुगेर फाराम भरेका थिए । नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको हो । जनगणना सुरु भएको ११० वर्षपछि स्थानीय तहसम्मको तथ्याङ्क प्रकाशन हुन लागेको हो । राज्य पुनःसंरचना भएपछिको यो पहिलो जनगणना हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७