साढे २० करोड कर छलेको अभियोगमा ६ जनाविरुद्ध मुद्दा


९ पुष २०७८, शुक्रबार
rajaswa anusandhan

काठमाडौं । राजश्व अनुसन्धान विभागले २० करोड बढी रकम भ्याट र आयकर छलेको अभियोगमा दुई कम्पनीका सञ्चालक र आवद्ध व्यक्तिहरूविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले बारा, भलुही भरवलिया- १ स्थित ‘लार्ज ट्रेड लिङ्क’का सञ्चालक अर्जुनप्रसाद पटेल, सिराहा राजपुरका जयकिशोर साह, सिराहा रामपुरका सूर्यजितप्रसाद साह र सर्लाही भक्तिपुरका तोयनाथ अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ ।

लार्ज ट्रेड लिङ्क प्रालि नामक कम्पनीबाट वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर चुहावटको कसुर गरेको अभियोगमा उनीहरूविरूद्ध मुद्दा दायर भएको विभागले जनाएको छ ।

उनीहरूले मूल्य अभिवृद्धि कर ६ करोड १५ लाख ९६ हजार ९२७ रुपैयाँ, लाभांश कर १ करोड ५४ लाख ५६७ रुपैयाँ र आयकर रकम १० करोड ६५ लाख २४ हजार ७९२ रुपैयाँ गरी कुल १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ । उनीहरूबाट सो बराबरको विगो रकम कायम गरी शत प्रतिशत जरिवाना सजाय अर्थात कुल ३६ करोड ७० लाख ४४ हजार ५७२ रुपैयाँ माग दावी गरिएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज उपमहानगरपालिकास्थित तुराहा सप्लायर्स नामक कम्पनीबाट राजस्व चुहावट गरेको अभियोगमा सञ्चालक हरी नारायण साह तुराह र आवद्धविरुद्ध अर्को मुद्दा दायर गरिएको छ । सो मुद्दामा उनीसहित पर्सा विष्णुपुरका किशोर साह र सिराहा रामपुर- ९ पिपराका सूर्यजितप्रसाद साहविरुद्ध अभियोग लगाइएको छ । विभागका अनुसार सुर्यजित दुवै मुद्दामा जोडिएका व्यक्ति हुन् ।

उनीहरूले मूल्य अभिवृद्धि कर रकम ९६ लाख ४५ हजार ६ सय, लाभांस कर १५ लाख ४६ हजार ३१० र आयकर रकम १ करोड ७ लाख ६ हजार २१४ सहित कुल राजस्व रकम २ करोड १८ लाख ९८ हजार १२४ रुपैयाँ छली गरेको विभागले जनाएको छ । सो बराबरको विगो रकम कायम गरी शत प्रतिशत जरिवाना अर्थात कुल ४ करोड ३७ लाख रुपैयाँ बराबरको सजाय माग दावी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७