माओवादी राष्ट्रिय सम्मेलन, १५ सदस्यीय पदाधिकारीको प्रस्ताव


१० पुष २०७८, शनिबार
mao 1

काठमाडौं । बहुपदीय प्रणालीमा जाने निणर्य गरिसकेको माओवादी केन्द्र नेताहरूको व्यवस्थापनतिर जुटेको छ । प्रथम राष्ट्रिय सम्मेलनमार्फत १५ सदस्यीय पदाधिकारी बनाउने विधान पारित गर्ने र विभिन्न पदका आकांक्षीको व्यवस्थापन गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले विधान संशोधन कार्यदलले सिफारिस गरेको १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव पेस गरेका छन् । माओवादी केन्द्रको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पद बनाउने प्रस्ताव गरिए पनि संख्या टुंग्याउन बाँकी थियो ।

पदाधिकारीको संख्यासहित विधान संशोधनका अन्य प्रस्ताव तयार पार्न माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले सिफारिस गरेको प्रस्तावमा पदाधिकारीको संख्या १५ बनाउने भनिए पनि कुन पदमा कति संख्या राख्ने भन्ने अझै तय भइसकेको छैन ।

राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदनको अन्तिम तयारी गरिरहेका अध्यक्ष प्रचण्डले सोही कार्यदलले सिफारिस गरेको प्रस्ताव स्थायी कमिटीमा पेस गरेका हुन् । ‘अहिले सबैको चासो हाम्रो पार्टीको पदाधिकारी टिम कस्तो बन्छ भन्नेमा छ । त्यसमा १५ सदस्यीय पदाधिकारी टिम बनाएर अघि बढौँ भन्ने उहाँको प्रस्ताव छ,’ माओवादी केन्द्रका एक नेताले भने ।

प्रचण्डले केन्द्रीय कमिटीको संख्या पनि बढाउने प्रस्ताव अघि सारेका छन्, जुन यसअघि नै तयार पारिएको अन्तरिम विधानमा पनि व्यवस्था छ । माओवादी केन्द्रको केन्द्रीय कमिटी यसअघि एक सय ७९ जनाको थियो । अब केन्द्रीय कमिटीमा एक सय २० जना थप गर्ने र बहुपदीय प्रणालीमा जाने प्रस्ताव स्थायी कमिटीमा पुगेको छ । यदि यसलाई स्थायी कमिटीले पारित गरेको खण्डमा माओवादी केन्द्रले अबको राष्ट्रिय सम्मेलनमा दुई सय ९९ जनाको केन्द्रीय कमिटी र बहुपदमा जाने प्रस्तावमा छलफल गर्नेछ ।

त्यस्तै, माओवादी केन्द्र नेतृत्व चयन सर्वसम्मत गर्ने वा निर्वाचन प्रक्रियाबाट गर्ने भन्ने विषयमा पनि अन्तिम निष्कर्षमा पुगिसकेको छैन । पार्टीको अन्तरिम विधानमा यस विषयमा स्पष्ट नखुलाइए पनि माओवादी केन्द्रले स्थायी कमिटी बैठकमार्फत नै प्यानल नबनाईकनै खुला प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ । अहिलेको विधानमा तात्विक हेरफेर नभए खुला प्रतिस्पर्धाबाट एक सय २४ केन्द्रीय सदस्य आउने छन् । त्यस्तै दलित, युवा, मुस्लिम र महिलाको आरक्षण कोटाबाट पनि उल्लेख्य उपस्थिति केन्द्रीय समितिमा हुनेछ ।

माओवादी केन्द्र र मसाल सम्पर्क केन्द्रबीच एकता
माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच एकता भएको छ । शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच माओवादी केन्द्र र मोहनविक्रम सिंह नेतृत्वको मसालबाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता घोषणा भएको हो । एकता सम्झौतामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विद्रोही समूह नेकपा मसाल (सम्पर्क केन्द्र)का संयोजक लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय सम्मेलनको प्रतिवेदन स्थायी कमिटीमा पेस

प्रचण्डले शुक्रबारको बैठकमा राष्ट्रिय सम्मेलनमा पेस हुने राजनीतिक प्रस्ताव पेस गरेका छन् । ‘अध्यक्षले राष्ट्रिय सम्मेलनका लागि तयार पारिरहनुभएको दस्ताबेजलाई मौखिक रूपमा बैठकमा पेस गर्नुभएको छ । त्यसमा अबको कार्यदिशा के हुने, राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन, शान्ति प्रक्रियायता पार्टीको अवस्थाबारे समीक्षा, एमालेसँगको एकता र विभाजन, पार्टी पुनर्निर्माण तथा सांगठनिक विषयमा केही प्रस्ताव गर्नुभएको छ,’ ती नेताले भने । प्रस्तावमा शनिबार पुनः छलफल हुने र यसैलाई राष्ट्रिय सम्मेलनको बन्दसत्रमा पेस गर्ने सम्भावना रहेको उनको भनाइ छ ।

शुक्रबारको स्थायी कमिटीले राष्ट्रिय सम्मेलनका लागि मनोनयन गर्ने प्रतिनिधिको संख्या थप गरेको छ । यसअघि पाँच प्रतिशत मनोनयन गर्ने भनिएकोमा अब १० प्रतिशत प्रतिनिधि मनोनयन हुनेछन् । माओवादी केन्द्रले यसको जिममेवारी अध्यक्ष प्रचण्डलाई नै दिएको छ ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार राष्ट्रिय सम्मेलनमा नियमित प्रक्रियाबाट १४ सय ८३ र त्यसको १० प्रतिशत मनोनयन अध्यक्ष प्रचण्डले गर्नेछन् । अध्यक्षले १० प्रतिशत मनोनयन गर्दा थप एक सय ४८ जना प्रतिनिधि छानिने छन् । मनोनयनबाट आउने प्रतिनिधिको संख्या बढेसँगै यसअघि तय भएको १५ सय ३३ जना प्रतिनिधिको संख्या बढेर १६ सय आठ हुने भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७