देशका विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित


१० पुष २०७८, शनिबार
snow

काठमाडौं । देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायतका जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको स्थानीयले जानकारी दिएका छन् । ताप्लेजुङको ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका हिमाली क्षेत्रमा हिजोदेखि नै हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।

तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमै हिउँ पर्न थालेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । बस्तीमै हिमपात भएपछि चिसोका कारण घर बाहिर निस्कन समस्या भएको छ । पशुचौपायालाई पनि चरनमा समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ ।

हिमपातका कारण केही स्कुल पनि बन्द गरिएको छ । यस्तै दोलखाको कालीञ्चोकलगायतका ठाउँमा पनि बाक्लो हिमपात भएको छ । जनजीवन केही प्रभावित भएको तर पर्यटकको संख्या बढ्ने भएकाले व्यवसायी उत्साहित छन्। कालीञ्चोकमा मन्दिर दर्शन तथा हिउँ खेल्न पर्यटक पुग्ने गरेका छन् ।

यस्तै सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा बाक्लो कुहिरो लागेर सिमसिम पानी परेपछि जनजीवन प्रभावित बनेको छ । खुम्बु क्षेत्रमा हिमपात भइरहेको छ । सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकाले जनजीवन कष्टकर बनेको छ । आलु र मकै रोप्ने समय भएकाले अहिलेको पानीले फाइदा पुग्ने किसानको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७