सेन्ट्रल जोन महिला भलिबल : नेपालको लगातार तेस्रो जित


१० पुष २०७८, शनिबार
Women volleyball team

काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा साविक विजेता नेपालले बंगलादेशलाई सोझो सेटमा हरायो । एकपक्षीय बनेको खेलको पहिलो सेट नेपालले २५-५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेटमा भने बंगलादेशले सुधारिएको खेल खेल्यो । यद्यपि नेपालले त्यसपछि बंगलादेशलाई २५-१५, २५-१७ ले हराउँदै खेल सहजै जितेको हो ।

तीन जितपछि नेपाल अंकतालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई पनि सोझो सेटमा हराएको थियो ।

तीन जितपछि नेपालले फाइनल पुग्ने सम्भावना बलियोसमेत बनाएको छ । नेपालले आफ्नो चौथो खेल आइतवार उज्वेकिस्तान र सोमबार कीर्गिस्तानसँग खेल्नेछ । ६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७