सभापतिमा दोस्रो भएका शेखरको वरियता २० औं नम्बर, पहिलो वैठकमै अनुपस्थित


१० पुष २०७८, शनिबार
shekhar koirala 2

काठमाडौं । नेपाली कांग्रेसको नव निर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता २० औं नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औं नम्बरमा राखिएको हो ।

सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई वर्तमान र पूर्व पदाधिकारीपछिको वरियतामा राखिएको हो । कोइरालाले १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए । कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरियता दिने गरिएको थियो । १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरियतामा राखिएको थियो ।

यसैबीच डा.शेखर कोइराला केन्द्रीय समितिको पहिलो बैठकमा अनुपस्थित भएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा कोइराला अनुपस्थित भएका हुन् । कोइराला पहिलो बैठक छोडेर चितवन गएको कोइराला स्रोतले जनाएको छ ।

कांग्रेस विधानअनुसार सभापति पदको निकटतम प्रतिस्पर्धी रहेका कारण उनी स्वतः केन्द्रीय सदस्य हुन्छन् । वरियता विवादले शेखर केन्द्रीय समिति बैठकमा सहभागी नभएको बुझिएको छ । सभापतिपछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरियता निर्धारण गरिएको थियो । तर १४ औं महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धा मा दोस्रो भएको शेखरलाई २० औं नम्बरमा राखिएको छ । देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्व दिएका छन् । वरियतामा शेखर अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा रहेका छन् ।

१३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरको वरियता ३५ औं नम्बरमा थियो । १४ औं मा देउवासँग प्रतिस्पर्धा गरेपछि शेखर १५ स्थानमाथि आएका छन् । शेखरलाई २० औं वरियतामा राख्न पनि उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले संघर्ष गर्नुपरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७