देउवालाई अर्को अवसर


११ पुष २०७८, आईतवार
deuwa 1

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन् । अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो ।

कांग्रेस निर्वाचन समितिबाट शनिबार प्रमाणपत्र लिएलगत्तै देउवाले केन्द्रीय समितिको बैठकमार्फत सभापतिका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन् । पहिलो कार्यकालका रूपमा साढे पाँच वर्ष गुजारेका देउवाले पार्टी संगठन सुधारका लागि उल्लेख्य काम गर्न सकेनन् । पार्टीभित्र र बाहिरबाट आलोचनामै पहिलो कार्यकाल गुजारेका देउवाका लागि दोस्रो कार्यकाल विगतलाई सच्याउने एउटा अवसरका रूपमा आएको छ ।

विधानको पालना र सहमतिबाट पार्टी सञ्चालन दुवैमा असफल देखिएका देउवाका लागि आगामी दिनमा पनि सोही चुनौती छ । आफू कांग्रेस राजनीतिमा सक्रिय हुँदाका बेला जन्मिएका नेता-कार्यकर्तालाई १४औं महाधिवेशनबाट सहकर्मीका रूपमा देउवाले पाएका छन् ।

टेबुल ठोकेर पार्टीका विषयमा मात्र होइन, राष्ट्रिय मुद्दामा बहस गर्ने नेता बिनै सुरु भएको दोस्रो कार्यकालमा पदाधिकारीसहित केन्द्रीय समितिमा आएका युवा पुस्तालाई विश्वासमा लिने र अघिल्लो पुस्तालाई समेटेर अघि बढ्ने चुनौती देउवासामु छन् । रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, कुलबहादुर गुरुङसहितका नेता कांग्रेसको केन्द्रीय समितिमा छैनन् । उनीहरूलाई समेट्नु पर्ने चुनौती देउवालाई छ भने पदाधिकारीमा पराजित केही नेतालाई पनि अटाउनुपर्ने बाध्यता पनि उनीसँग छ ।

पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि निरन्तर प्रश्न गर्दै स्थापित भएको पुस्तालाई पार्टी पदाधिकारीमा सम्हाल्दै देउवाले दोस्रो कार्यकलको कार्यसम्पादन गर्नुपर्नेछ । संशोधित विधानसँगै पार्टी केन्द्रीय समितिमा युवाहरूको उपस्थितिले नेता तथा कार्यकर्तामा एउटा ऊर्जा ल्याएको छ । त्यसलाई पार्टी संगठनभित्र शक्तिका रूपमा परिणत गरेर आगामी एक वर्षभित्र हुने तीनै तहका निर्वाचनमा कांग्रेसलाई जिताउने चुनौती र दायित्व देउवामाथि छ ।

२०७४ सालमा भएका तीन तहको निर्वाचनमा पार्टी पराजित हुँदा पहिलो कार्यकाल त्यसमै रुमलिएका देउवाका लागि दोस्रो कार्यकालको परीक्षा पनि निर्वाचन नै हुनेछ ।

संविधानसभाबाट जारी नयाँ संविधान र त्यसले परिकल्पना गरेअनुसार वडादेखि केन्द्रसम्म पार्टीको सांगठनिक स्वरूपलाई कांग्रेसले समावेशी बनाएको छ। संघीयताको मर्मअनुसार कांग्रेसले पार्टी संरचनालाई रूपान्तरण गरेको छ । तर, त्यही संविधानको संरक्षण पनि कांग्रेस र देउवाका लागि अर्को चुनौतीको विषय बन्दै आएको छ ।

समयमा तीन तहको निर्वाचन गराउने र अहिलेको गठबन्धनलाई निरन्तरता दिनुपर्ने जिम्मेवारी प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाकै काँधमा छ । एमसिसीलगायत राष्ट्रिय महत्व र अन्तर्राष्ट्रिय चासोका परियोजनाहरूका विषयमा निणर्यमा पुग्नु र सन्तुलन गुमाउन थालेको परराष्ट्र सम्बन्धलाई ठिक ठाउँमा ल्याउने दायित्व पनि उनैसँग छ ।

त्यति मात्र होइन, पार्टीलाई विधि र विधानअनुसार हिँडाउने कि गुट र भागबन्डाका आधारमा भन्ने प्रश्न कांग्रेसमा पेचिलो बन्दै गएको छ । पहिलो कार्यकालमा विधानअनुसार पार्टीका विभागसहितका समितिहरूलाई पूणर्ता दिनसमेत असफल देउवाले दोस्रो कार्यकालमा कसरी अघि बढ्छन् ? पार्टीका विभिन्न पक्ष र समूहलाई साथै लिएर हिँड्न खोज्दा विधानको पालना गर्न नसकिएको देउवा र निकटहरूले बताउँदै आएका थिए ।

तर, अहिले उनलाई केन्द्रीय समितिमा निकट दुई तिहाइ नेताको साथ र समर्थन छ। अब उनलाई विधानको पालना गरेर विगतको गल्ती सच्याउन अवसर प्राप्त भएको छ । १४औं महाधिवेशनले २०६४ सालदेखि कायम रहेका संगठित गुटहरू भत्केर समूहसमूहमा परिणत भएका छन् । पार्टीभित्रका विभिन्न समूहलाई संगठन निर्माणमा प्रयोग गर्छन् कि नयाँ गुटका रूपमा स्थापित गराएर भागशान्तिमा परिणत गर्नेछन्, त्यो आगामी दिनले नै देखाउनेछ । पार्टीका उपगुटलाई वैधता दिँदै कांग्रेसभित्र मात्र होइन, राज्यसत्तामा पनि भाग पाउने परम्परा विगतमा देउवाले नै बसाएका हुन् । त्यसलाई तोड्ने देउवालाई यो अन्तिम अवसर हो ।

राम्रोलाई होइन, हाम्रोलाई भन्ने मान्यता कांग्रेसमा स्थापित हुँदै गएको छ । त्यसलाई तोड्दै हाम्रोलाई, राम्रोलाई र व्यक्तिलाई होइन, विधि र विधानलाई महत्व दिनुपर्ने कांग्रेस नेता प्रकाशशरण महतको पनि बुझाइ छ । कांग्रेसमा संगठनभन्दा व्यक्ति प्रधान हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै महत कुनै एक व्यक्तिका कारण पार्टी संगठन रूपान्तरण सम्भव नभएको बताउँछन् । व्यक्ति होइन, पार्टी र पार्टी संगठनलाई महत्व दिनुपर्ने उल्लेख गर्दै उनले थपे, ‘अहिले व्यक्तिवादी चरित्र हाबी भएको छ । त्यसले संगठनलाई हित गर्दैन ।’

महिनौं लगाएर वडादेखि केन्द्रसम्मको महाधिवेशन त कांग्रेसले गरेको छ । तर, उसका सबै भ्रातृ तथा शुभेच्छुक संगठनहरू लथालिंग छन्। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलसहितका भ्रातृ तथा शुभेच्छुक संगठनहरूको आवधिक महाधिवेशन नहुँदा तदर्थवादमा सञ्चालन हुँदै आएका छन् । उनीहरूको आवधिक महाधिवेशन तत्काल गराउने र आगामी दिनमा ठीक समयमा गर्ने र गराउने परम्परा विकास गर्न सक्छन् कि सक्दैनन् देउवाको दोस्रो कार्यकालको परीक्षण त्यहीबाट सुरु हुनेछ । आफ्नो उमेरजति नै लामो अवधि कांग्रेस र लोकतान्त्रिक आन्दोलनका लागि खर्चिएका नेताहरूलाई ब्याक बेन्चमा धकेलेर निकै ऊर्जाका साथ फर्स्ट बेन्चमा महामन्त्रीका रूपमा आइपुगेका दुई युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्माको परीक्षा र परीक्षण पनि त्यहीँ नै हुनेछ ।

‘पार्टीलाई एकताबद्ध बनाउँछु’

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले पार्टीका सबै नेताकार्यकर्तालाई समेटेर अघि बढाउने बताएका हुन् । महाधिवेशनमा नेतृत्व लागि प्रतिस्पर्धा भए पनि आफू सबैको साझा सभापति भएको स्पष्ट पार्दै देउवाले भने, ‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु । सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु । म सबैको सभापति हुँ, आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु ।’

कांग्रेसमा वडा तहदेखि केन्द्रसम्मै लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको बताउँदै यस्तो लोकतान्त्रिक अभ्यास नेपालका अन्य दलमा नभएको दाबी गरे । थुप्रै अवरोध र व्यवधानहरूबीच पार्टीले महाधिवेशन गरेर आफूलाई लोकतान्त्रिक अभ्यासमा अग्रपंक्तिमा स्थापित गरेको उल्लेख गर्दै देउवाले अब आमनिर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले तीनै तहको निर्वाचन जित्नेगरी संगठन निर्माणमा लाग्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरे । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७