बढ्यो चिसो : वर्षा र हिमपातको सम्भावना


११ पुष २०७८, आईतवार
snow fall 3

काठमाडौं । देशभर ह्वातै चिसो बढेकोे छ । यो साता देशका अधिकांश भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने मौसमविदले जानकारी दिएका छन् । पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साताको शुरुमा देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूणर्तया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको औंल्याएको छ ।

देशको पहाडी भू-भागमा साताको शुरुमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा बागमती प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूणर्तया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा र एक/दुई स्थानमा असिनाको समेत सम्भावना छ ।

देशको तराईका भू-भागमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णतया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७