‘एक वडा एक किलोमिटर सडक कालोपत्रे’


११ पुष २०७८, आईतवार
kalopatre 1
फाइल फोटो

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्रे’ गर्ने योजना अघि सारेको छ । गाउँ-गाउँमा सहजरूपमा यातायात सुविधा पुर्‍याउने उद्देश्यले नगरपालिकाले १४ वडाका ग्रामीण सडकमा कालोपत्रे गर्ने काम सुरु गरेको हो ।

आठौं नगर परिषद्ले निणर्य गरी चालु आर्थिक वर्ष २०७८/७९ बाट सञ्चालन गर्ने गरी बहुवर्षीय कार्यक्रमअन्तर्गत काम अगाडि बढाइएको हो । यसका लागि करिब रु १५ करोड बजेट समेत विनियोजन गरिएको छ ।

पहिलो चरणमा ७०० देखि ९०० मिटरसम्म सडक कालोपत्र हुनेछ भने क्रमशः सबै वडाका सबै सडक आगामी तीन/चार वर्षभित्र कलोपत्रे हुँदै जाने नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिए । वडा नं २ मा उपभोक्ता समितिबाट काम अगाडि बढाइएको छ भने अन्य वडामा निर्माण व्यवसायीबाट काम अगाडि बढेको छ । निर्माणमा गुणस्तरीयता कायम गर्न प्रयोगशाला परीक्षण गरिएका निर्माण सामग्री प्रयोग हुने नगरपालिकाका इञ्जीनियर रामप्रसाद श्रेष्ठले बताए ।

नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडामा कच्ची सडक निर्माणसँगै बाह्रै महिना सहजरूपमा यातायात सञ्चालनका लागि सडकमा कालोपत्र गर्ने काम गरेको हो । एक वडा एक किलोमिटर सडक कालोपत्र योजनाअन्तर्गत काम थालनी भइसकेको र आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको तानसेन- ६ का वडाध्यक्ष सागरमान महर्जन जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७