सुकुम्वासी बस्तीमा न्यानो कपडा वितरण


११ पुष २०७८, आईतवार
kapada

पर्वत । पर्वतको जलजला गाउँपालिका-४ लामाखेतमा रहेको सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउटको आयोजना तथा कुश्मा नगरपालिका-७ को सहकार्यमा स्थानीयवासी झण्डै १०० जनालाई न्यानो कपडा वितरण गरिएको हो ।

स्थानीय क्विक रेस्क्यु फोर्सको सहकार्यमा पीडितको बस्तीमै पुगेर कपडा वितरण गरिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल (निर्जन) ले जानकारी दिए । स्थानीय बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने करिब १०० सेट न्यानो कपडा पर्वत उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष केदार शर्माले क्विक रेस्क्यु फोर्सलाई हस्तान्तरण गरेका हुन् ।

गरिब तथा विपन्न परिवारका बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन क्लबले न्यानो कपडा वितरण अभियान सञ्चालन गरेर उदाहरणीय कार्य गरेको उनले बताए । अभियानअन्तर्गत यसअघि कुश्माबजारका झण्डै २०० र मालढुङ्गाको माझी बस्तीका २०० परिवारलाई न्यानो कपडा वितरण गरिसकिएको छ ।

चिसोका कारण प्रभावित बनेका गरिब, विपन्न र दलित समुदायका परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको क्लबका अध्यक्ष पौडेलले बताए । चिसोबाट गरिब तथा विपन्न परिवारलाई बचाउन क्लबले ‘चिसोबाट आफू पनि जोगिऔं अरुलाई पनि जोगाऔँ, हुनेले दिऊँ नहुनेले लैजाऊँ’ भन्ने अभियान सञ्चालन गरेको क्लबका अध्यक्ष पौडेलले बताए । अभियानका क्रममा सहयोगदाताबाट ५०० प्रतिशत नयाँ र ५० प्रतिशत सफा कपडा सङ्कलन भएको उनले जानकारी दिए ।

यहाँका उद्योगी, व्यावसायी तथा अन्य बासिन्दासँग पुराना र सफा कपडा सङ्कलन गर्ने र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्ने अभियान थालिएको उनको भनाइ थियो । क्लबले उपलब्ध गराएका स्वीटर, ज्याकेट, कुर्ता, सुरुवाल, टोपी, टाउजर, ट्रयाकसुट, जुत्ता, मोजालगायत लगाउने र ओढ्ने कपडा गरिब तथा विपन्न परिवारलाई वितरण गरिएको क्विक रेस्क्यु फोर्सका संयोजक दिलीप बरुवालले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७