१८ वर्षीय देवरसँगको यौन सम्बन्ध खुल्ने डरले सासुको हत्या


११ पुष २०७८, आईतवार

सल्यान । सल्यानमा एक महिलाले परपुरुषसँग मिलेर सासुको हत्या गरेकी छन् । छत्रेश्वरी गाउँपालिका-५ झिप्पेकी २४ वर्षीया सुशीला बुढा मगरले नातामा देवर पर्ने गाउँकै १८ वर्षीय कमल मगरसँग मिलेर ७० वर्षीया सासु जमानी बुढामगरको हत्या गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आफूहरुबीचको अनैतिक यौन सम्बन्ध लुकाउन उनीहरुले यस्तो अपराध गरेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सुशीला जमातीकी काइँली बुहारी हुन् । जमातीको गएको असार ११ गते मृत्यु भएको थियो । दुई जना मिलेर जमानीको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्यामप्रकाश यादवले जानकारी दिए ।

‘घाँटी थिचेर हत्या गरेपछि भर्‍याङबाट लडेर मरेको भन्ने हल्ला फैलाएको अनुसन्धानबाट खुलेको छ,’ यादवले भने । प्रहरीका अनुसार सुशीलाले भारतमा रहेका परिवारका अन्य सदस्य र छरछिमेकलाई सासु भर्‍याङबाट लडेर मरेको जानकारी गराएकी थिइन् ।
शंकाको आधारमा अनुसन्धान गर्दा मृत्यु नभई हत्या गरेको खुलेको हो । प्रमाण मेटाउन मृतककी माइली बुहारी २८ वर्षीया चमेली र कमलका बुवा बालारामले समेत सहयोग गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न र प्रमाण मेटाउन सहयोग गर्ने चारै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुशीला, चमेली, बालाराम र कमल छन् । आज नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सुशीला र कमलबीच केही समयदेखि अनैतिक यौन सम्बन्ध रहेको स्थानीयले बताएका छन् । उनीहरुबीचको सम्बन्ध जमातीले देखेपछि समाजमा बदनाम हुने डरले दुई जना मिलेर हत्या गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७