यस कारण छोडेँ विवेकशील साझा पार्टी


११ पुष २०७८, आईतवार
  • रन्जु दर्शना

जग त असली, मजबुत नै हालेका थियौं। विस्तारै विस्तारै एक पक्का भुईँतला पनि निर्माण भइसकेको थियो। समय बित्दै जाँदा समाज, दवाव र आफ्नै इच्छा शक्तिले तला थप्न उत्साह जाग्यो र थपियो पनि।

पहिलो पटक थपेको तला भत्कियो र दोस्रो पटक पुनः सो भल्किएको तला निर्माण गर्ने प्रयास गरियो। तर, जुन असली, मजबूत सामग्रीको आडमा जग र भुईँतला बनेको थियो माथिको तला कमसल ‘देख्दा झिलिक्क, तर भित्र खोक्रो’ हुने सामाग्रीबाट बनेछ।

देख्दा राम्रै छ, झिलिक्क पनि त छ भनेर केही समय आफूलाई आश्वासन दिएँ। तर, विस्तारै थपिएको तलामा अन्य ठाउँमा बन्द भइसकेको लोडसेडिङ देखिन थाल्यो, वर्खा आउँदा पानी चुहिन थाल्यो। यी सबै समस्याको दिर्घकालीन समाधान सम्भव थियो तर आलटाल समाधान मात्र भयो।

खासमा यस तलाको नेतृत्व गर्नेलाई अझै तला थप्ने मोह निकै धेरै छ। यसै कारण वर्तमानमा यही तलामा देखापरेका समस्या, समस्या नै होईन भन्ने भ्रम पालिएको छ। यो तला सानै कम्पन, आँधी हुरी आयो भने पनि गर्ल्याम् गुर्लुम् ढल्ने खालको बनेको छ।

तर, यो तलाको नेतृत्व गरिरहेका व्यक्ति भने जसरी पनि यहीँबाट एक दिन देशको सरकार बनाउने सपना देख्दैछन्। अहिले यो तला ढल्यो भने नवनिर्मित कमसल फ्लाट मात्र ढल्छ। अनि पाठ सिकियो भने फेरि बलियो शसक्त नयाँ संरचना निर्माण हुनसक्ला। तर कुनै दिन यहीँ कमसल तलामैं राज्यको कुनै निकाय रह्यो भने पुरै राज्य संयन्त्र ढल्नसक्छ। त्यसैले यहाँ हुने र यसका नजिक रहनुहुने सबैलाई समय छँदै सचेत हुन आग्रह गर्न चाहन्छु।

माथि भनिएको असली मजबुत जग २०६७/६८ बाट सुरू भएको विवेकशील नेपालीको यात्रा हो। जुन २०७१ सालमा आधिकारिक रूपमैं राजनीतिक दलको रूपमा दर्ता भएको थियो। वि.सं. २०७२ को भुईँचालो र २०७४ को स्थानीय निर्वाचनमा रञ्जु दर्शना र टिमको दरिलो उपस्थितिपछि विवेकशील नेपाली दल एउटा आशाको किरणको रूपमा स्थापना भएको थियो।

संघीय गणतान्त्रिक लोकतन्त्रको स्थापना भइसकेको देशमा भर्खर सुरू भएको राजनीतिक दलले बलियो जग निर्माण गरि विश्वसनीय संगठनको रुपमा परिचित हुँदै जानुमा केही कारण छन् जसमध्ये केही तल उल्लेख गरेको छु।

  • बन्द हड्ताल, हिंसारहित आन्दोलनको बिजारोपण गर्नु।
  • राजनीतिलाई पेशा बनाउनु हुँदैन, सबैले आफ्नो इलम, व्यवसायबाट पालिनुपर्छ भन्ने विचारको नेपाली राजनीतिमा सशक्त स्थान बनाउनु, मलजल गर्नु।
  • तडक भडक बिनै कम खर्चमा हरेक कार्यक्रम गर्नु।
  • टाउको गन्नकै लागि ठूलो खर्च गरेर गाउँ गाउँबाट मानिसको हुललाई खर्च दिएर नल्याउनु।
  • निर्वाचनको तयारी हरेक राजनीतिक कार्यक्रम हिसाबले गर्नु।
  • खर्च आम्दानीको हिसाब खुलस्त रूपमा सधै निर्वाचन आयोगलाई बुझाउनु, वेवसाईटमै बिना कुनै डर राख्नसक्नु। ‘सुचनाको हक अधिकारको प्रयोग गरि राज्य प्रणाली, जनप्रतिनिधिलाई जवाफदेही बनाउने काम गर्नु।
  • जवाफदेही राज्य मात्र होईन राजनीतिक दल पनि हुनुपर्छ भन्ने विश्वासले आन्तरिक लोकतन्त्र बलियो बनाउन दल भित्रै सूचनाको हक कार्यान्वयन गर्नु। युवाले नेतृत्व गर्ने वातावरण बनाउनु र युवा नेतृत्व स्वीकार गर्नु।
  • सूचना प्रविधि, सामाजिक सञ्जालको अधिकतम प्रयोगले हरेक नेपालीलाई जोड्नु।
  • विदेशमा बस्ने नेपाली नागरिकलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न (नोट चल्ने भोट नचल्ने) अभियानको सुरूवात र दल भित्रै अभ्यास गर्नु।
  • महाभूकम्पमा आफ्नो चुस्त दुरूस्त व्यवस्थापन शक्ति र युवाको नेतृत्व पुष्टि गर्न सक्नु। नेतृत्व हस्तान्तरणको राजनीतक संस्कार सहज ढङ्गले अभ्यास गर्नु।
  • एक नेताको अनुहारभन्दा माथि दलको प्रणाली हुनु।

माथि उल्लेखित तत्त्वहरू तला थपिने क्रममा केही पूर्ण त केही अधिकतम विलय हुन पुग्यो। जसको परिणामस्वरूप ‘झिलिक्क तर सारमा खिसिक्क’ संरचनाको निर्माण भयो।

जसले आँखालाई शितलता त प्रदान गर्न सक्यो तर समाजको रूपान्तरणमा होईन बिखण्डनमा आफ्नो भलो देख्यो जतिसक्दो चाँडो जुनसुकै हालतमा निर्वाचन जित्नुपर्छ र एकपटक जितेपछि फेरि अर्को पटकको निर्वाचन जित्नकै लागि कम्मर कस्नुपर्छ भन्ने मोहको जरा मनमष्तिस्कमा स्थापित हुनु हाम्रो देशको सुशासन, राजनीतिक स्थायित्व, लोकतन्त्र सबैका लागि घातक छ।

म राजनीतिमा ‘सके सफा गर्छु, नसके फोहोर गर्दिनँ’ भनेर प्रवेश गरेकी हुँ। अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ। जुन मैले सफा गर्ने कोसिस पनि गरेँ। तर पूर्ण रूपले सफा गर्न असमर्थ रहेँ। तसर्थ म यहीँ संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ।

म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु।

मिति २०७८ पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रूपमा सक्रिय रहनेछु। मनमा शान्ति, मुहारमा कान्ति छाइराखोस्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७