माओवादी केन्द्रमा १५ पदाधिकारी : वरिष्ठसहित सात उपाध्यक्ष, तीन सचिव

१२० जना नयाँ केन्द्रीय सदस्य थपिंदै, ४५ जना विदा हुने


११ पुष २०७८, आईतवार
269771779 665217411143461 2434543367733355578 n1640495935

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले १५ पदाधिकारी राख्ने भएको छ । केन्द्रीय कमिटीको भर्खरै सकिएको बैठकले पास गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई पनि महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

आज (आइतबार) देखि शुरु हुने माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्‍यो भने थुप्रै केन्द्रीय नेताहरुले नेतृत्वबाट विदा लिनु पर्ने भएको छ । साउनमा बसेको केन्द्रीय समितिको बैठकले अन्तरिम विधानमार्फत् केन्द्रीय कमिटीको संख्या झण्डै एक सय बृद्धि गरी २९९ बनाए पनि विधानकै अर्को एक व्यवस्था अनुसार बहालवाला केन्द्रीय सदस्यहरुले नेतृत्वबाट विदा लिनुपर्ने स्थिति सिर्जना भएको हो ।
एमालेसँग एकतापूर्व २ सय जना रहे पनि नेकपा विभाजनपछि केही नेता एमालेमै रहेका कारण माओवादी केन्द्रको केन्द्रीय समिति हाल १७९ सदस्यीय मात्र छ । यस हिसावले साउनमा बसेको केन्द्रीय समिति बैठकले निर्माण गरेको अन्तरिम विधान अनुसार केन्द्रीय समितिमा १२० जना नयाँ सदस्य थप हुनेछन् ।

तर, १२० जना केन्द्रीय सदस्यहरुको संख्या बृद्धि हुँदा हालको केन्द्रीय समितिमा रहेका थुप्रै नेताहरुले राष्ट्रिय सम्मेलनबाट चयन हुने केन्द्रीय समितिमा स्थान पाउने छैनन् । माओवादी केन्द्रको अन्तरिम विधानले पार्टी कमिटीहरुलाई समावेशी बनाउने निणर्य गरेका कारण यस्तो स्थिति सिर्जना भएको हो । अन्तरिम विधानले गरेको व्यवस्थाका कारण राष्ट्रिय सम्मेलनबाट नयाँ केन्द्रीय समिति चयन हुँदा बहालवाला केन्द्रीय समितिमा खस-आर्य समुदायका थुप्रै नेता नयाँ केन्द्रीय समितिमा छुट्ने छन् ।

पार्टीको नयाँ विधानले पार्टी कमिटीमा महिलाको संख्या ३५ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार नयाँ केन्द्रीय समितिमा महिलाहरुको संख्या पाँच गुणा बढेर १०४ जना पुग्नेछ । अहिलेको केन्द्रीय समितिमा महिला केन्द्रीय सदस्यहरुको संख्या जम्मा २० छ ।

यसैगरी दलितको संख्या १५ प्रतिशत हुनुपर्ने व्यवस्था अन्तरिम विधानले गरेको छ । यो व्यवस्था अुनसार नयाँ केन्द्रीय समितिमा करिव ४५ जना दलितहरुको प्रतिनिधित्व हुनेछ । हालको केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरुको संख्या २० पनि छैन । माओवादी केन्द्रले पार्टी समितिहरूमा स्थानीय विशेषताअनुरूप गरिबीको रेखामुनि रहेका वर्ग, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको यथासम्भव समावेशी प्रतिनिधत्व गर्नुपर्ने व्यवस्था गरेको छ । यसका लागि ५ प्रतिशत स्थान छुट्ट्याइएको छ ।

यसैगरी माओवादीको अन्तरिम विधानले पार्टीका कमिटीहरुमा २० प्रतिशत युवाहरुलाई स्थान दिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार कूल केन्द्रीय समितिमा २० प्रतिशत ४० वर्ष ननाघेका युवाहरुले स्थान पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७