माओवादीको केन्द्रको आठौं महाधिवेशन : सुरक्षा रणनीति परिवर्तन


११ पुष २०७८, आईतवार
apf security

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौंको सुरक्षा रणनीति परिवर्तन गरिएको छ ।

यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

आज दिउँसो हुने महाधिवेशन उद्घाटन समारोहलाई बढी केन्द्रित गरिएको छ । सुरक्षाकर्मी बिहानैदेखि महाधिवेशनस्थल र उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन भइसकेको छ । ‘थप मद्दतसहित रिजर्व फोर्स समेत तयारी अवस्थामा छ । महाधिवेशनको रूपमा गर्ने भनिसकेपछि हिजोको योजनाभन्दा थप सुरक्षा मजबुत बनाएका छौं’, परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले भने ।

भिडभाड कम हुने गरी ट्राफिक व्यवस्थापन समेत मिलाइएको छ । अन्य सुरक्षा निकाय तथा आयोजकसँग समन्वय गरेर चुस्त सुरक्षा व्यवस्था मिलाइएको एसएसपी गिरीले बताए । राष्ट्रिय सम्मेलनमा अतिथि नआउने, आफ्नै पार्टीका नेताहरू मात्रै सहभागी हुने भन्ने थियो । तर, महाधिवेशनमा परिणत भएपछि अतिथिहरूलाई समेत बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित राष्ट्रिय पार्टीका मुख्य नेताहरू आउने भएकाले सुरक्षाको मोडाडिटी परिवर्तन गरिएको महाधिवेशनको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी वरिष्ठ उपरीक्षकले कमान्ड पोस्टबाटै अनुगमन गर्नेछन् । माओवादीको राष्ट्रिय सम्मेलन बिहान ११ बजेबाट शुरु हुने भनिएको थियो । तर, महाधिवेशनको रूपमा हुने भएपछि कार्यक्रम समय परिवर्तन गरी दिउँसो ३ बजे पुर्‍याइएको छ । समुद्घाटनमा अन्य कार्यकर्तासमेत आउने भएकाले पनि केही भिडभाड बढ्ने भएकाले सोहीअनुसारको सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महाधिवेशनमा झन्डै चार हजारदेखि पाँच हजार मानिस उपस्थित हुने अनुमान छ । प्रतिनिधि एक हजार ५३३ र अन्य स्वःस्फूर्त आउने कार्यकर्तालाई पनि रोकावट नभएकाले उनीहरू पनि सहभागी हुन पाउने छन् । यद्यपि, प्रज्ञा भवनको क्षमता एक हजार ३६० बस्न सक्ने हो । अन्यका लागि चौरमा बसेर र भवनकै अन्य खुला भागमा बसेर हेर्न मिल्ने गरी व्यवस्था गरिएको छ । त्यहाँ स्क्रिन र स्पिकर राखिएकाले बाहिर पनि मानिस बस्न सक्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनको सुरक्षाका लागि अहिले बिहानदेखि नै तीन टोली परिचालन भइसकेको र बाँकी टोली केही बेरमा थप गरिने प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भिडभाडको अवस्था हेरेर सोहीअनुसारको ट्राफिक व्यवस्थापन मिलाउने गरी ट्राफिक सुरक्षा योजना मिलाइएको छ । विशेषगरी सम्मेलनस्थल वरपरका सवारी रुटमा विशेष व्यवस्थापन गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७