सर्वोच्चमा बारको आन्दोलन जारी


११ पुष २०७८, आईतवार
bar 2

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आज (आईतवार) पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश समशेरको राजीनामा माग गर्दै आन्दोलन गरेको छ ।

आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारकोे मेरुदण्ड भएकोले न्यायपालिकाभित्र विकृति, विसंगति हुन नहुने बताए । उनले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढ्दै गएको कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको समेत बताए ।

अध्यक्ष श्रेष्ठले न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, जवाफदेहिता कायम गर्न र न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न न्यायपालिकाभित्रको अनियमितता, भ्रष्टाचार एवं विचौलिया अन्त्य गर्नका लागि आवश्यक कदम चाल्न सम्बन्ति सबैको ध्यानाकर्षण गराए ।

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूणर्मान शाक्यले प्रधानन्यायाधीश जबरा र परिवारको सम्पत्ती शुद्धिकरणका लागि नेताहरु सम्पत्ती शुद्धिकरण कार्यालयमा जाने तयारीमा रहेको बताए। उनले सम्पत्ती शुद्धिकरण आयोगबाट छानबिन गर्न बारले पनि सहयोग गर्ने बताए । प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले कार्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर बिरोध पदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७