राष्ट्रिय सम्मेलनलाई महाधिवेशन बनाइएको बारे यस्तो छ अध्यक्ष प्रचण्डको ‘ब्रिफिङ’


११ पुष २०७८, आईतवार
269771779 665217411143461 2434543367733355578 n1640495935

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक जटिलता र कानुनी पक्षलाई मिलाउन राष्ट्रिय सम्मेलनलाई महाधिवशेनमा रूपान्तरण गर्नुपरेको बताएका छन् ।

आज बिहान बसेको केन्द्रीय कमिटीको बैठकमा उनले बरु विचारमा परिमार्जन गर्नुपरे विशेष महाधिवेशन गर्ने पक्षमा आफू रहेको बताएको बैठकमा सहभागी केन्द्रीय सदस्य कुमार पौडेलले जानकारी दिए । बैठकमा प्रचण्डले पार्टीले अंगीकार गरेको नीति, पार्टीको विधानलगायत विषयमा घनीभूत छलफल हुने भएपछि राष्ट्रिय सम्मेलन मात्र भन्नु नपर्ने जिकिर गरेका थिए ।

‘नीति तथा विधानको बारेमा छलफल हुने भएपछि महाधिवेशन नै भन्ने निणर्ण भयो । पछि बरु नीतिमा परिमार्जन गर्न विशेष महाधिवेशन गर्ने विषयमा पनि छलफल भए’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘कानुनी र व्यावहारिक पक्ष मिलाउन पनि महाधिवेशन गरेर जानुपर्ने विषयमा सहमत भइयो ।’

बैठकमा प्रचण्डले वडादेखि प्रदेशसम्म महाधिवेशनकै हिसाबले नेतृत्व चयन गरिएकाले पनि राष्ट्रिय सम्मेलन भन्न जरुरी नरहेको तर्क गरेका थिए । पुस १० गते अर्थात् हिजोसम्म प्रथम राष्ट्रिय सम्मेलनको रूपमा नामकरण गरिए पनि अन्तिम समयमा पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन गर्ने निणर्य गरिएको छ ।

शनिबार बेलुका बसेको स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गर्ने निणर्य गरेको थियो । आज बिहानको केन्द्रीय कमिटी बैठकले त्यसलाई अनुमोदन गरिसकेको छ । आज दिउँसो उद्घाटन गरिने आठौँ महाधिवेशनमा विभिन्न दलका नेताहरूलाई अतिथिका रूपमा निमन्त्रणा पनि गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७