आज मन्त्रिपरिषद विस्तार, को-को बन्दैछन् मन्त्री ?


२ चैत्र २०७४, शुक्रबार

काठमाडौं, २ चैत :  प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी सुरु गरेका छन् । मन्त्रालय भागबन्डा नमिलेपछि मन्त्रालय थपेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको छ ।

सिंहदरबार sigadarbar

ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार आफ्नै पार्टी एमाले, माओवादी र  संघीय फोरमलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन् । मन्त्री परिषद् विस्तारका लागि प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पटकपटक छलफल गरेका छन् । ३ फागुनमा प्रधानमन्त्री निर्वा्िचत भएका ओलीले दुईपटक गरेर सरकारमा ६ मन्त्री नियुक्त गरेका छन् । हाल उनीसहित ७ जनाको मन्त्रिपरिषद छ ।

सत्तारुढ वाम गठबन्धनले यसअघि केन्द्र सरकारमा १८ मन्त्रालय राख्ने निर्णय गरेको थियो । वाम गठबन्धनको सहमति अनुसार पनि सरकारको पूर्णताका लागि अझै ११ जना मन्त्री थप गर्नुपर्ने हुन्छ । तर, फोरमलाई ल्याउदा मन्त्रालयको भगबन्डा नमिल्ने भएपछि मन्त्रालय थपेर मन्त्री परिषद् विस्तार गर्न लागिएको हो । बिहीबार राति १२ बजेसम्म मन्त्रिपरिषद् बैठक बसेको थियो । सो क्रममा पाँचवटासम्म मन्त्रालय टुक्राउने बारेमा छलफल भएपनि तीन वटा मात्र थप गर्न निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

को को बन्दैछन् मन्त्री ?
एमालेबाट प्रधानमन्त्री ओली सहित डा.युवराज खतिवडा (अर्थ), महासचिव ईश्वर पोखरेल(रक्षा), लालबाबु पण्डित (वाताबरण), थममाया थापा (महिला तथा बालबालिकामा) मन्त्री भइसकेका छन् । अब एमालेबाट भने प्रदेश १ बाट भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ, यज्ञराज सुनुवार, राजेन्द्र राई, २ बाट रघुवीर महासेठ, ३ बाट कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा, ७ बाट प्रेम आले र नारदमुनि रानाको नाम चर्चामा छ ।

माओवादीका तर्फबाट यसअघि नै गृहमा रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादवले मन्त्रीको रूपमा सरकारमा काम गरिरहेका छन् । माओवादीले बिना मगर, गिरिराजमणि पोखरेल, वर्षमान पुन र र शक्ति बस्नेतमध्ये एकलाई पठाउने तयारी गरेको छ ।

फोरमले गृह, परराष्ट्र, सञ्चार र रक्षाबाट एक, भौतिक, सहरी विकास, स्वास्थ्य, कृषिमध्येबाट एक र सामान्य, वातावरण, भूमिसुधारमध्येबाट एक मन्त्रालयबाट दिनुपर्ने अडान राखेको छ । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । मन्त्री बन्नलाई सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि तिव्र दौडधुप गरीरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७