माओवादी केन्द्रको आठौं महाधिवेशन : आजबाट बन्द सत्र


१२ पुष २०७८, सोमबार
first 26122021111655

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बन्द सत्र आज (सोमबार) बिहान ११ बजेदेखि प्रज्ञा भवनमा शुरु हुने भएको छ । आइतबार उद्घाटन सत्र सम्पन्न गरेको माओवादीले कमलादीस्थित प्रज्ञा भवनमा बन्द सत्र गर्न लागेको हो ।

उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्द सत्रको बारेमा जानकारी दिएका थिए । बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ । विचारको महाधिवेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल १,६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ ।

सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निणर्य गरेको छ । कमलादीस्थित हलमा नै बन्दसत्र आयोजना गरिने भए पनि हलको क्षमता भन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निणर्यलाई अनुमोदन गरेको थियो । नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्द सत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७