चार ‘ब’ बाहिरिँदा प्रचण्डको एकछत्र


१२ पुष २०७८, सोमबार
prachanda 5

काठमाडौं । सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए- बाबुराम, वैद्य, बादल र विप्लव । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दाहिने-देब्रे हात मात्र होइन, बलिया साथ थिए उनीहरू । माओवादी शान्ति प्रक्रियामा आएपछि क्रमशः सत्ता र शक्तिको खेलमा जेलिँदै गयो । पार्टी र अवसरमा दाहालको एकछत्र चल्दै गयो । दाहालको दबदबाबाट बिरक्तिएका चारै ‘ब’ ले क्रमशः पार्टी छाडे । चुनौती दिनेले मैदान खालि गरेपछि दाहालसामु नेतृत्वको प्रश्न उठाउने हैसियतको कोही रहेन ।

फलतः आठौं राष्ट्रिय महाधिवेशन उद्घाटनसत्रका निर्विकल्प नायक देखिए, प्रचण्ड । उनको वरिपरि न वैद्य थिए, न त डा. भट्टराई नै। नेत्रविक्रम चन्द (विप्लव) झन् टाँसिएर रहने कुरै भएन । २०५२ सालमा सशस्त्र आन्दोलनमा सँगै होमिएका र युद्धमा सैन्य कमान्ड गरेका रामबहादुर थापा (बादल) पनि साथमा रहेनन् । उसकालका सहयोद्धा टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पनि अन्यत्रै गइसके ।

२०६५ मा पार्टी एकताबाट आएका नारायणकाजी श्रेष्ठ मात्र दाहाल छेउको सोफामा थिए । ‘प्रचण्डलाई पैसा, पद र परिवार बाहेक अरू केही नचाहिने भएपछि इमान्दार नेताहरू सबैले छोड्दै गएका हुन्,’ रायमाझीले भने, ‘विचार, सिद्धान्त, आन्दोलन केही नभएपछि त्यहाँ बस्नुको औचित्य देखिएन ।’

विगतमा कुनै बेला वैद्य त कुनै बेला डा. भट्टराई नेतृत्व परिवर्तनका सबाल उठाउँथे । उनीहरूले दाहालबाट नेतृत्व भने कहिल्यै उम्काउन सकेनन् । पछि दाहाललाई चुनौती दिने नेताका रूपमा नेत्रविक्रम चन्द विप्लवलाई हेरिन्थ्यो ।

उनले पनि वैद्यसँगै पार्टी विभाजन गरेर छुट्टै पार्टी गठन गरे । आठौं राष्ट्रिय महाधिवेशनमा दाहालले नेतृत्वका लागि कसैसँग चुनौतीको सामना नै गर्नु नपर्ने निश्चित छ । केही नेताहरूले छोड्दैमा प्रचण्ड कमजोर नहुने तर्क गर्छन्, माओवादी नेता दीनानाथ शर्मा । ‘मञ्चमा नेताको कमी भयो होला, तर प्रचण्डसँग नेता र कार्यकर्ताको कुनै कमी छैन,’ शर्माले भने । अन्नपूर्ण दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७