जापानमा भारी हिमपात : हिउँले ढाकिए सडक र रेलमार्ग


१२ पुष २०७८, सोमबार
Japan snowfall

काठमाडौं । जापानमा भारी हिमपात भएको छ । हिमपातपछि कैयौं सडक र रेलमार्ग अवरुद्ध भएका छन् । सोमबार मध्य जापानमा भएको हिमपातपछि सडकमा ट्राफिक जाम भएको छ भने कैयौं उडान रद्द भएका छन् । त्यस्तै, हिमपातबाट प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध हुँदा ३ हजार २ सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।

अधिकारीहरूले सोमबार राति समेत थप हिमपात हुने चेतावनी दिएका छन् । तर चिसोका कारण हालसम्म कसैको मृत्यु नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मातसुनोले बताए । ‘शक्तिशाली हिउँदै चापका कारण भीषण हिमपात भइरहेको छु’, मातसुनोले भने, ‘भोलि समेत हिमपात हुन सक्ने हुँदा सावधानी एवं सजगता अपनाउन आवश्यक छ ।’ विशेष गरी पूर्वी तथा पश्चिमी क्षेत्रमा हिमपात भएको र कुनै-कुनै स्थानमा हालसम्मकै धेरै हिमपात रेकर्ड गरिएको उनको भनाइ छ ।

अलपत्र परेका सवारी साधनका कारण शिगा क्षेत्रको प्रमुख सडकमार्ग बन्द गरिएको पनि मातसुनोले बताए । हिमपातका कारण सडक तथा रेलमार्ग हिउँले ढाकिँदा यात्रुहरू अलपत्र परेका छन् । हिमपातका कारण आइतबार झण्डै १३० वटा आन्तरिक उडान रद्द गरिएको थियो । सोमबार पनि ५० वटा उडान रद्द हुन सक्ने जापानको एनएचके समाचार माध्यमले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७