नेता-कार्यकर्तालाई उत्पादनसँग जोड्न प्रचण्डले अघि सारे यस्ता योजना

हरेक कार्यकर्ताले वर्षमा १५ दिन अनिवार्य श्रम गर्नुपर्ने


१२ पुष २०७८, सोमबार
prachanda maoist FFFdG2RpJH

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीका नेता-कार्यकर्तालाई उत्पादनसँग जोड्न विभिन्न योजना अघि सारेका छन् ।

अध्यक्ष प्रचण्डले हरेक पालिकामा ६ महिनाभित्र सामुहिक कृषि उद्यम शुरु गर्न प्रस्ताव गरेका छन् । पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले हरेक पालिकामा कम्तीमा ५० जना संलग्न गरी कृषि उद्यम उद्योग ६ महिनाभित्र स्थापना गर्ने उल्लेख गरेका हुन् ।

स्थानीय स्रोत, बजार ख्याल गरेर खाद्यान्न, फलफूल, तरकारी, पशुपालन, नगदेबाली, घरेलु तथा साना उद्योग छान्न सकिने उनको भनाइ छ । जमिनको चक्लाबन्दी गरी किसानको स्वामित्व कायम रहने गरी कम्पनी र सहकारी साझेदारीमा त्यस्ता व्यवसाय सञ्चालन गर्न सकिने उनले प्रस्ट पारेका छन् । ठूलो परिमाणमा काम गर्नुपर्ने भएमा दुई वा दुई भन्दा बढी पालिकाले संयुक्त रूपमा समन्वयमा त्यस्ता उद्योग, व्यवसाय सञ्चालन गरिने उनको भनाइ छ ।

उनले प्रदेश तहले कम्तीमा १०० जना युवालाई रोजगारी दिने गरी कृषि फार्म खोल्नुपर्ने कुरा पनि अघि सारेका छन् । ‘प्रदेशले १०० जनालाई रोजगारी दिने गरी कृषि फार्म खोल्नेतर्फ जाऊँ । केन्द्रले केन्द्रीयस्तरका उद्योगसम्बन्धी काम गर्नुपर्छ’, उनले भनेका छन्, ‘हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन श्रम गर्ने कुरालाई अनिवार्य गर्नुपर्छ ।’

प्रचण्डले वैज्ञानिक शिक्षा प्रणाली लागु गर्न राष्ट्रिय शिक्षा नीतिमा परिमार्जनको कुरा पनि समावेश गरेका छन् । उनले सार्वजनिक शिक्षाको स्तरोन्नति आवश्यक रहेको कुरा पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७