नकुन्नी र निर्मला कुर्मीको घटनामा राज्यकै मिलेमतो : बाबुराम भट्टराई


१२ पुष २०७८, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नकुन्नी धोबीको हत्याको घटनाको सत्य तथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका छन् ।

सोमवार निर्मला कुर्मी र नकुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ गतेदेखि माइतीघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरुलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शंकास्पद भएको टिप्पणी गरे । उनले आजसम्म घटनाको न्यायपूणर् छानबिन नहुनु र सत्यतथ्य बाहिर नआउनुले घटनामा राज्यकै मिलेमतो भएको शंका उब्जिएको बताए । सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने उनले बताए । राज्य अपराधीको पक्षमा उभिनु र जनतालाई शान्ति सुरक्षा नदिनु गम्भिर गल्ती भएको भन्दै उनले अपराधीहरूको विरुद्धमा जनमत सिर्जना गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘सरकार जसले शान्ति सुरक्षा कायम गर्ने, न्याय दिलाउने जिम्मेवारी राज्यको हो। त्यसले अहिले सम्म करिब १२ वर्ष भइसकेको बुझिन्छ यो घटना यतिबेलासम्म । यो घटनाको न्यायपूणर् छानबिन भएर सत्यतथ्य बाहिर नआउनु, अपराधीलाई कारबाही नगर्नुको पछाडि राज्यकै मिलेमतोमा यो भइरहेको छ कि अथवा जो अपराधीहरू छन्, तिनीहरुले राज्यको आड पाएका छन् कि भन्ने शंका लाग्छ । अपराधीलाई कारबाही गर्नुपर्‍यो । ठूलै पहुँचवाला मान्छेहरु छन् र तिनीहरुको विरुद्धमा जनमत सिर्जना गर्नुपर्छ र राज्यले यसरी अपराधीको पक्षमा उभिनु र जनतालाई सुरक्षा नदिनु गम्भिर गल्ती हुन्छ ।’

विधवा महिला निर्मला कुर्मीको हत्या तथा नकुन्नी धोबीको हत्या प्रकरणमा छानबिन समितिले पेश गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न र निर्मला कुर्मीको घटनाको छिटोभन्दा छिटो सुरुदेखि नै अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै बाँकेदेखि आएर पीडित परिवार र महिला अधिकारकर्मीहरूले माइतीघर मण्डलामा धर्ना गरिरहेका छन् । महिला अधिकारकर्मी रुबी खानले आफूहरु महिनौंदेखि न्यायका लागि धर्ना बसेको भएपनि सरकार आफूहरुको मागमा संवेदनशील नभएको बताइन् । उनले महिलालाई न्याय दिने सम्बन्धमा सरकार उदासिन रहेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७