राजनीतिक प्रतिवेदनमा प्रचण्डले खुट्याए आफ्ना मुख्य तीन गल्ती

‘नेता-कार्यकर्ताले पद र स्वार्थलाई महत्व दिंदा क्रान्तिकारी यात्रा बिग्रियो’


१२ पुष २०७८, सोमबार
prachanda maoist FFFdG2RpJH

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा ती वटा गल्ती गरेको खुट्याएका छन् । सोमबार माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले आफ्नो आत्मसमीक्षा गरेका छन् ।

प्रचण्डले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती भनेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘विद्रोहको कुरै गर्नु हुँदैनथ्यो, त्यहाँ गल्ती भयो ।’ प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती औंल्याएका छन् । ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिल जस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो’ उनले भनेका छन् ।

प्रचण्डले प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि गल्ती भनेका छन् । ‘यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन, कि प्रचण्डपथ विचार नै होइन भन्नुपथ्र्यो, विचार थियो भने (यसलाई स्थगित गर्नेबारे) छलफल गर्नुपथ्र्यो’ उनले भनेका छन् । तर उनले यसको अर्थ प्रचण्डपथ पुनर्स्थापित गर्नुपर्छ भन्ने नभएको पनि प्रष्टीकरण दिए । ‘यो सन्दर्भ सामग्री मात्र भयो, यसलाई संश्लेषण गरेर अगाडि बढ्ने हो’ प्रचण्डले भने ।

‘नेता-कार्यकर्ताले पद र स्वार्थलाई महत्व दिंदा क्रान्तिकारी यात्रा बिग्रियो’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेता-कार्यकर्ताले व्यक्तिगत स्वार्थ र पद, प्रतिष्ठालाई महत्व दिँदा पार्टी बिग्रँदै गएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेता-कार्यकर्तामा विकसित हुँदै गएको चरम स्वार्थी प्रवृत्तिले माओवादीलाई क्रान्तिकारी रूपान्तरणमा लैजाने विषय जटिल बन्दै गएको उल्लेख छ । माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म के-के कुरामा कमजोरी भयो भन्ने विषयमा प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरेका प्रचण्डले वृहत् योजना र सुधार विना पार्टी अघि बढ्न नसक्ने उल्लेख गरेका छन् ।

प्रचण्डले प्रतिवेदनमा पार्टी रूपान्तरण गर्दै जाँदा निजी सम्पत्ति छाडेर सामुहिक जीवन पद्धति अँगाल्ने विषय कत्तिको सम्भव छ भनेर प्रश्न गरेका छन् । यस्तै एक खालको सामन्तवाद र निरङ्कुशताको अन्त्य भए पनि अहिले नयाँ-नयाँ स्वरूपमा सामान्तवाद देखिन थालेको भन्दै प्रचण्डले सम्भावित प्रतिगमन र निरङ्कुशताको सामना गर्न क्रान्तिकारी कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीच मोर्चाबन्दी हुनुपर्ने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७