ढल्केबरमा सौर्य विद्युत आयोजनाको एक मेगावाट प्रसारण प्रणाली जोडियो


१३ पुष २०७८, मंगलवार

धनुषा । धनुषामा सौर्य विद्युत आयोजनाको एक मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । धनुषाको मिथिला नगरपालिका १ स्थित ढल्केबर सौर्य विद्युत आयोजनाको राष्ट्रिय प्रसारण प्रणालीमा अपी पावर कम्पनीले निर्माण गरेको सौर्य विद्युत आयोजनाको विद्युत आइतबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

आयोजनाको विद्युत ११ केभी प्रसारण लाइनमार्फत दुई किलोमिटरको दुरीमा रहेको ढल्केबर सबस्टेसनमा जोडिएको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने जनाइएको छ । कम्पनीले साढे चार बिघा क्षेत्रफलमा चार सय वाटका दुई हजार ६८८ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरेको छ । व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले निजी लगानीमा सञ्चालनमा आएको सौर्य विद्युत आयोजना गरिएको हो ।

नौ करोड रुपैयाँ भन्दाबढी लागत अनुमान गरिएको सो आयोजनामा बैंक अफ काठमाडौंको एकल लगानी रहेको छ । सौर्य विद्युत आयोजना प्रसारण प्रणालीमा जोडिएपछि धनुषाको विद्युत वितरण प्रणालीमा सुधार भई यहाँका उद्योगहरूमा सहज ढंगले दिगो र गुणस्तरीय विद्युत प्रवाह हुने अपी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए । उनले आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम नेपालको कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको बताए ।

विद्युत उत्पादनको क्षेत्रमा काम गर्दैआएका अपि पावर कम्पनीले यसअघि ८.१० मेगावाटको बुटवलको तिलोत्तमा, आठ मेगावाटको परवानीपुर, पाँच मेगावाटको रौतहटको चन्द्रनिगाहपुर र सिमरा एक मेगावाट सौर्य विद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

अपी पावरले यसअघि दार्चुलामा निर्माण गरेका साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दार्चुलामै ४० मेगावाटको माथिल्लो निर्माणाधीन चमेलिया जलविद्युत आयोजना २०८० साल पुष-माघ महिनामा सञ्चालन गरिसक्ने कम्पनीको अध्यक्ष न्यौपानेले जनाए । अध्यक्ष न्यौपानेले ढल्केबरमा सो आयोजनासँगै यहाँका समुदायसँग मिलेर कृषि विकासको क्षेत्रमा समेत काम गर्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७