कोरोना कहर : नेपाली कामदारको रोजगारी गुम्ने र ज्याला नपाउने समस्या बढ्यो


१३ पुष २०७८, मंगलवार

काठमाडौं । कोरोनाको समयमा विदेशमा काम गर्ने नेपाली श्रमिकलाई ज्यालाको समस्या हुने गरेको पाइएको छ ।
अन्तर्राष्ट्रिय भवन तथा काष्टकर्मी महासङ्घ नेपाल आवद्ध समितिले काठमाडौंमा आयोजना गरेको ‘प्रवासी श्रमिकको मुद्दामा आधारित बागमती प्रदेशस्तरीय सम्मेलन’ मा वक्ताहरुले कोरोनाको समयमा विदेशमा रहेका नेपाली श्रमिकलाई ज्यालाको समस्या हुने गरेको बताएका छन् ।
कार्यक्रममा महासङ्घ नेपाल आवद्ध समितिका सदस्य एवं नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको महासचिव प्रदीप आचार्यले प्रवासमा नेपाली श्रमिकलाई धेरै समस्या रहेको बताए । ती समस्या समाधानका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।

कोरोनाको समयमा श्रमिकलाई आफ्नो देश फर्कन समस्या, विदेश जान लागेका श्रमिक विदेश जान नसकी पैसा फसेर बसेका समस्या, विदेशमा काम गरेको ज्याला समयमा नपाउने समस्या, नेपाल फर्कन पाँच/छ महिना कुनुपर्ने समस्या, काम गरेको ज्याला घटाएर दिने समस्या र धेरै काम गर्नुपर्नेलगायत समस्या देखिएको वक्ताहरुले बताएका छन् ।

महासङ्घमा निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा मजदुर युनियन र अखिल नेपाल निर्माण मजदुर सङ्घ आवद्ध छन् । उक्त तीनवटा सङ्घमा विदेशमा १७ हजार मजदुर आवद्ध रहेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७