सिरहाका एसपी पाण्डेलाई चोक बजारमा जनकारबाही गर्ने सिके राउतको धम्की


१३ पुष २०७८, मंगलवार
dhamki

सिरहा । जनमत पार्टीका प्रमुख सीके राउतले सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएका छन् ।
सीके राउतको सचिवालयले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् सिरहाका प्रहरी उपरीक्षक पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएको हो । जनमत पार्टीले सिरहामा आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोली जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै राउतको सचिवालयले एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने धम्की दिएको हो । ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडा समेत नदिएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ,’ सीके राउतको सचिवालयको फेसबुक फेजमा लेखिएको छ ।

राउतले हिरासतमा रहेका आन्दोलनकारीसँगको व्यवहार सुधार्न भन्दै एसपी पाण्डेलाई चेतावनी समेत दिएका छन् । ‘यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ’, राउतको सचिवालयको फेसबुक पेजमा लेखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७