‘सरप्राइज’ मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री केपी ओली, यस्तो छ नयाँ कुरा


२ चैत्र २०७४, शुक्रबार
kp oli 2

काठमाडौं, २ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भवतः आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दैछन् । स्वच्छ छवीका नेतालाई सरकारमा ल्याउने दावी गर्दै आएका प्रधानमन्त्री ओलीको तेस्रो चरणको मन्त्रिमण्डल विस्तारमा ‘सरप्राइज’ निर्णय गरेका छन् ।kp oli 2

आज विस्तार गर्न लागिएको सरकारमा नेकपा माओवादी केन्द्रकी बिना मगर पहिलोपल्ट मन्त्री बन्दैछिन् । यस्तै दुई पटक सभामुखको भूमिका निर्वाह गरिसकेका सुवासचन्द्र नेम्वाङ्ग भने कानूनमन्त्री बन्ने भएका छन् । नेम्वाङ्ग यसअघि २०५६ सालमा कानूनमन्त्री भइसकेका हुन् । यस्तै विगतमा उर्जामन्त्री भएर लोडसेडिङ घटाउँदै जनतामा लोकप्रिय बनेका जनार्दन शर्मा प्रभाकर ओली मन्त्रिमण्डलमा आउने चर्चा भए पनि उनको सम्भावना करीब–करीब अन्त्य भएको छ । शर्मा यस पटक नदोहोरिने सम्भावना रहेको माओवादी केन्द्रका नेताहरु बताउँछन् । माओवादी केन्द्रले मन्त्रीहरुको टुङ्गो लगाएको छ । स्रोतका अनुसार, बर्षामान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर मन्त्री बन्ने निश्चित भएको छ । बिना बाहेक अरु तीन जना यसअघि मन्त्री भइसकेका छन् ।

राष्ट्रपति कार्यालयले शुक्रवार अपरान्ह् ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको छ । सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबाट मन्त्रीहरु थप गरी सरकारलाई पूर्णता दिन लागिएको बताइएको छ । प्रधानमन्त्री ओलीले सरकारलाई पूर्णता दिनेबारेमा बिहीबार केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग परामर्श गरेका थिए । गत फागुन ३ मा ओली प्रधानमन्त्री नियुक्त भई सोही दिन पहिलो र फागुन १४ मा दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गरेका थिए । फोरम सरकारमा आउने भएपछि मन्त्रालयको संख्या बढाएर २१ सम्म बनाउने तयारी छ । एमालेबाट कानूनमन्त्रीमा सुवासचन्द्र नेम्वाङ, प्रदिप ज्ञवाली, गाकुल बास्कोटा, प्रेम आलेमगर, रघुवीर महासेठ, रविन्द्र अधिकारी, भानुभक्त ढकाललगायतका नेताहरु मन्त्री बन्ने लहरमा छन् । यस्तै योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, नारदमुनि रानाथारु, पद्मा अर्याल, शान्ता चौधरीलगायतको पनि चर्चा छ ।

‘मन्त्रिपरिषद आजै विस्तार हुने सम्भावना छ,’ उनले भने, ‘एमाले, माओवादी केन्द्र र फोरमका शीर्ष नेताहरु नाम र मन्त्रालयको टुङ्गो लगाउनका लागि वार्तामै हुनुहुन्छ’–प्रधानमन्त्रीका प्रेस संयोजक विष्णु रिमालले भने । गत फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा ल्याउन मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ गरिरहेका थिए । एक महिना अवधिमा प्रधानमन्त्री ओलीले फोरम र राजपालाई आफ्ना पक्षमा ल्याएका छन् । दुवै दलले संसद्मा ओलीका पक्षमा विश्वासको मत दिए । त्यसैले अबको विस्तारमा दुवै दललाई समेट्ने तयारी छ । फोरमसँग अन्तिम कुराकानी भइसकेको छ । त्यसैले अबको विस्तारमा फोरम पनि सहभागी हुँदैछ ।

फोरमले वाम गठबन्धनसँग तीन वटा मन्त्रालय मागेको छ । तर गठबन्धनले दुईटा मात्र दिने तयारी गरेको छ । दुईटा मन्त्रालय पाउँदा राष्ट्रिय सभाको उपाध्यक्ष वा उपसभामुख आफूले पाउनुपर्ने अडान फोरमको छ । तर, उपसभामुखमा एमालेले आफैं उम्मेद्वारी दिएकाले अब दुई मन्त्री र एक राज्यमन्त्री फोरमलाई दिने सम्भावना छ । राजपा भने तत्कालै सरकारमा सहभागी हुने कि नहुने भन्ने स्पष्ट भइसकेको छैन । शुक्रबार उनीहरूसँग पनि अन्तिम कुरा गर्ने तयारी गठबन्धनको छ । राजपासँग कुरा नटुंगिए पनि अब पर्खने मनस्थितिमा प्रधानमन्त्री छैनन् । फोरमलाई मात्र लिएर भए पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनको योजना छ । नाम सार्वजनिक गरिहाल्दा झन् दबाब बढ्ने भएकाले अन्तिम समयमा छनोट गर्ने दुवै दलका अध्यक्षको योजना छ । मन्त्री बनाउँदा प्रादेशिक सन्तुलन र समावेशितालाई पनि ध्यान दिइने तर काम गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिने प्रधानमन्त्रीको मनस्थिति छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७