प्रचण्डको प्रतिवेदन : सुझाव राख्न १५ मिनेट समय, समूहबाट एक जनाले मात्रै बोल्नु पर्ने


१३ पुष २०७८, मंगलवार
abalokan prachanda4.jpg .2021 12 28

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आठौं राष्ट्रिय महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको सुझावका लागि प्रत्येक समूहलाई १५ मिनेटको समय दिइएको छ ।

प्रतिवेदन वाचनपछि बनाइएका २५ वटा समूहबाट एक जना टोली नेताले मात्रै समूहबाट सुझाव प्रस्तुत गर्न सक्ने छन् । मंगलबार बिहान बसेको स्थायी समिति बैठकले प्रत्येक समूहबाट एक जनाले मात्रै सुझाव दिन सक्ने नियम बनाइएको एक नेताले जानकारी दिएका छन् ।
यस्तै प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि फरक मत वा पुरक दस्तावेज भए त्यसलाई पनि समूहका एकजनाले मात्रै प्रस्तुत गर्न समय दिइने भएको छ । प्रचण्डले सोमबार ४५ पृष्ठको राजनीतिक प्रतिवेदन वाचन गरेका थिए । प्रतिवेदनमाथि २५ समूह बनाएर मंगलबारदेखि छलफल भइरहेको छ ।

‘अध्यक्षको प्रतिवेदनमाथि सुझाव दिन प्रत्येक समूहलाई १५ मिनेटको समय दिइएको छ,’ ती नेताले सुनाए, ‘समूहबाट एक जनाले मात्रै सुझाव दिन सक्छन् ।’ ‘अध्यक्षको प्रतिवेदन चित्त नबुझी फरक मत वा पुरक डकुमेन्ट छ भने त्यसलाई छुट्टै प्रस्तुत नगरी समूहबाट एक जनाले मात्रै राख्नुपर्छ । त्यसलाई लिखित रुपमा दिनुपर्छ ।’

स्थायी समिति सदस्यहरुलाई प्रतिवेदन अध्ययन गरी सुझाव दिन भोलि (बुधबार) सम्मको समय दिइएको छ । ‘स्थायी समिति सदस्यलाई अध्यक्षको प्रतिवेदन अध्ययन गरी सुझाव दिन भोलि सम्मको समय दिइएको छ,’ नेता हरिबोल गजुरेलले भने, ‘२५ वटै समूह र स्थायी समिति सदस्यले दिएको सुझाव समेटेर अध्यक्षले अन्तिममा परिमार्जनसहित डकुमेन्ट फेरि पेश गर्नु हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७