नेपालले जित्यो ‘एसियन सेन्ट्रल जोन महिला भलिबल’ को उपाधि


१३ पुष २०७८, मंगलवार
270181188 4971963066168997 4693239928829653100 n

काठमाडौं । नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि हात पारेको छ । मंगलबार बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा साविक विजेता नेपालले उज्वेकिस्तानलाई २६-२४, २४-२६, २५-१५, २२-२५, १५-११ ले हरायो ।

पहिलो सेटमा उज्वेकिस्तानले १८ अंकसम्म अग्रता लिएको थियो । नेपालले १८-१८ को बराबरी गर्‍यो । त्यसपछि रोमाञ्चक बनेको सेटमा नेपालले २६-२४ को स्कोरमा नतिजा आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुबाटै अग्रता लिएको थियो । एक समय २१-१६ को स्थिति थियो । त्यसपछि २३-१९ को स्थितिमा उज्वेकिस्तानले रातो कार्डको सामना गरेपछि नेपालले एक अंक बोनस पाएको थियो । सर्भिस नेपालको पक्षमा आएको थियो ।

२३-२० को स्थितिबाट नेपालले लगातार अंक जोड्दै २३-२३ को स्थिति बनायो । तर, दोस्रो सेटमा नेपाल २६-२४ ले पराजित भयो । तेस्रो सेटमा नेपालले २५-१५ को सहज जित निकाल्दै २-१ को अग्रता लियो । चौथो सेटमा उज्वेकिस्तानले २५-२२ ले जित्दै २-२ को बराबरी गर्‍यो । अन्तिम तथा निर्णायक सेटमा नेपालले उज्वेकिस्तानलाई १५-११ ले जित्दै उपाधि रक्षा गरेको हो ।

नेपालले लिग चरणमा उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो । लिग चरणमा नेपालले श्रीलंकासँगबाहेक अन्य कुनै पनि टोलीसँग अंक गुमाएको थिएन । प्रतियोगितामा महिलातर्फ नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका, उज्वेकिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गरेका थिए । नेपालले लिग चरणमा पनि सबै टोलीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालले पहिलो खेल श्रीलंकालाई ३-२ को सेटमा हराएको थियो भने बाँकी सबै टोलीलाई ३-० को सोझो सेटमा हराएको थियो । नेपालले फाइनल खेलेको यो लगातार दोस्रो प्रतियोगिता हो । बंगलादेशमै सम्पन्न गत संकस्करणको उपाधि जितेपछि नेपालले काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)को पनि फाइनल खेलेको थियो । तर, फाइनलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो ।

सेन्ट्रल जोन भलिबलको गत संस्करणमा भने नेपालले फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो । नेपालले माल्दिभ्सलाई २५-१३, २५-१२, २५-८ ले हराउँदै उपाधि पक्का गरेको थियो । नेपालकी प्रतिभा माली प्रतियोगिताको ‘बेस्ट स्पाइक’ घोषित भइन् भने कप्तान अरुणा शाही ‘बेस्ट सेटर’ बनेकी थिइन् ।

पाँच राष्ट्र सम्मिलित प्रतियोगिताभर नेपालले कुनै पनि सेट गुमाएको थिएन । त्यति बेला प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, कीर्गिस्तान र अफगानिस्तानको सहभागिता थियो ।

श्रीलंका तेस्रो
आजै सम्पन्न खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गर्‍यो । श्रीलंकाले कीर्गिस्तानलाई २६-२४, २५-१६, २५-२१ को स्कोरमा पराजित गर्दै तेस्रो स्थान पक्का गरेको हो । यसअघि, समूह चरणको अन्तिम खेलमा श्रीलंका नेपाल र उज्वेकिस्तानसँग समान ३-२ को सेटमा पराजित भएको थियो । कीर्गिस्तान नेपाल, उज्वेकिस्तान र श्रीलंकासँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७