हुम्लामा भारी हिमपात : जनजीवन कष्टकर, हवाई उडान प्रभावित


१४ पुष २०७८, बुधबार
snow humla 1

हुम्ला । हिमाली जिल्ला हुम्लामा भारी हिमपात हुँदा जनजीवन थप कष्टकर बनेको छ । हुम्ला सदरमुकाम सिमकोटमा एक फिटभन्दा बढी हिउँ जमेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले उत्तरी भेग नाम्खा गाउँपालिकाान तीन फिटभन्दा बढी हिउँ जमेको जानकारी दिए ।

‘नाम्खा गाउँपालिकाको न्यालु, नारा र यारी लेकमा तीन फिटभन्दा बढी हिउँ जमेको छ । आवतजावत गर्न सकिने अवस्था छैन । सिमकोट विमानस्थलमा रोकिएका विमानको केही भाग पनि हिउँले छोपिएको छ’, प्रजिअ आचार्यले भने । अहिले हुम्लाको तापक्रम माइनस ८ डिग्रीसम्म पुगेको जनाइएको छ । हिमपात हुँदा किसानहरूले भने समयमै बाली लगाउन पाउने हुम्लाको सर्केगाड गाउँपालिका-१ का वडाध्यक्ष गोकुल बुढाले बताए ।

‘गहुँ, जौ, उवा रोप्ने समय भएको बेलामा हिमपात भयो । अब हिमपात रोकिएर हिउँ पग्लनेबित्तिकै यहाँका किसानलाई हिउँदे बाली लगाउने चटारो सुरु हुन्छ । समयमै हिमपात हुँदा हिउँदे बालीको उत्पादन बढ्छ’, उनले भने । यस्तै, स्याउको उत्पादन पनि बढ्ने बुढाले बताए । खोलानालाहरूमा बरफ जम्न थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७