जर्मनी र बेलायत कोरोनाको चौथो खोप दिने योजनामा


१४ पुष २०७८, बुधबार
korona

काठमाडौं । युरोपमा कोरोना भाइरसको नयाँ विकसित स्वरुप ओमिक्रोनको विगविगी बढिरहेको अवस्थामा जर्मनी र संयुक्त अधिराज्य दुवैले आफ्ना जनसंख्याको निश्चित छनोट समूहमा परेका केहि व्यक्तिहरुलाई कोभिड १९ को चौथो खोप दिनेबारे विचार विमर्श गरिरहेका छन् ।

दि गार्जियनका अनुसार वेलायतको खोपका लागि बनाइएको संयुक्त समितिका सदस्य तथा युनिभर्सिटी अफ ब्रिस्टलका औषधि विशेषज्ञ प्राध्यापक एडम फिनले गत साता भनेका थिए, ‘मेरो विचारमा सायद चौथो डोज खोप लिने मानिसहरु पनि हुनेछन् । तर सबै खोप लिन सहमतै हुन्छन् भन्नेबारे मलाई शंकै लाग्छ ।’

पोलिटिको युरोपका अनुसार वैज्ञानिक तथा फिजिसियनसमेत रहेका जर्मनीका स्वास्थमन्त्री कार्ल लाउटरवाकले जर्मन रेडियो स्टेसनसँग कुरा गर्ने क्रममा भनेका छन्, ‘मेरो विचारमा कोभिड १९ को चौथो खोप अर्थात दोस्रो वुस्टरको आवश्यक हुनेछ । म आफैं पनि चौंथो खोप लिने पक्षमा छुं । तर यो दोश्रो वुस्टरले ओमिक्रोनबाट जोगाउने बैज्ञानिक प्रमाणबारे अझै पनि शंका रहेको छ ।’

इजरायलले सोमवारदेखि चौथो खोप परीक्षणका रुपमा आफ्ना जनतालाई दिन शुरु गरेको छ । गत अगष्टमा पहिलो वुस्टर लिएका स्वास्थ कार्यकर्ताहरुलाई यो दोस्रो वुस्टर दिइएको हो । खोप दिइएकाहरुलाई त्यसको प्रभाबकारिताबारे अनुसन्धान गर्न छ महिनासम्म पूणर् निगरानीमा राखिने भएको छ । यता जर्मन स्वास्थ मन्त्रीले यदि सो खोप प्रभावकारी भएमा त्यसको अभाब हुनसक्ने चिन्ता पनि व्यक्त गरेका छन् । कोरोना भाइरसविरुद्धको तेस्रो डोज युरोपका सम्पूणर् मुलुकमा व्यापक रुपमा वितरण भइरहेको छ ।

जर्मन स्वास्थ मन्त्रालयका निर्देशक न्याचम्यान एसले अनुमोदन गर्नासाथ स्वास्थकर्मीहरु र ६० तथा सो भन्दा बढी उमेरका व्यक्तिहरुलाई यो दोस्रो वुस्टर दिइने बताइएको छ । गत साता विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस एधानोमले धनी मुलुकहरुले अर्काको कुनै वास्ता नगरी आफूहरु मात्र वूस्टर कार्यक्रमको पछि लागेकोमा आलोचना गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७