बस र कार जुध्दा बैंकका कर्मचारीको मृत्यु, तीन जना घाइते


१४ पुष २०७८, बुधबार
Anurag Pandey

कपिलवस्तु । कपिलवस्तुमा बस र कार जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका-१ दरखास्त भन्ने स्थानमा भएको दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाणगंगा नगरपालिका-२ घर भएका पाण्डे शाइन रेसुङ्गा विकास डेभलपमेन्ट बैंकको जितपुर शाखा प्रमुख एवम् क्लस्टर हेड हुन् । कारमा सवार वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्मा र कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनाल घाइते छन् । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गएराति नौ बजेतिर चारनम्बरबाट गोरुसिंगे जाने क्रममा कारलाई शुरुमा ट्रकले ठक्कर दिएको र लगत्तै ना ५ ख ३३८७ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको थियो । सुरुमा दुर्घटनामा घाइते भएकाहरुलाई चार नम्बर सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि गम्भीर घाइते पाण्डेलाई थप उपचार गर्न रुपन्देहीको बुटवलस्थित क्रिमसन अस्पताल लगिएको थियो । उनको राति १० बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

अर्का घाइते वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्माको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । कारमा सवार अर्का घाइते कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनालको पनि भैरहवामा उपचार जारी छ । छातीमा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार प्यूठानको नौबाहिनी नगरपालिका ७ का ३३ वर्षीय जोगेन्द्र रोका पनि घाइते भएका छन् । उनको मुखमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । रोकाको कपिलवस्तुको चारनम्बरस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७