अन्तर्राष्ट्रिय उडानमा रहेका निगमका दुई विमान एकै दिन ग्राउन्डेड


१५ पुष २०७८, बिहीबार
nepal airlinse1 SOtZKHtDq8

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकै दिन ग्राउन्डेड भएका छन् ।
नियमित अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटै विमानमा प्राविधिक समस्या आएपछि मंगलबारदेखि नै निगमका दुई विमान ग्राउन्डेड भएका खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् । निगमको मंगलबार ९एन-एकेडब्लु कलसाइन भएको न्यारोबडी विमान र ९एन-एलवाई कलसाइन भएको वाइडबडी विमानमा अचानक प्राविधिक समस्या देखिएर ग्राउन्डेड भएको निगमले जनाएको छ ।

निगमका अनुसार मंगलबार काठमाडौंबाट उडेर कतारको दोहा विमानस्थलमा अवतरण भएलगत्तै निगमको न्यारोबडी विमानको इन्जिनमा समस्या देखिएको थियो । यसैगरी, काठमाडौंबाट जापानको नारिता उडान भर्न तयार निगमको अर्को वाइडबडी विमानमा विद्युतीय समस्या उत्पन्न भएका कारण सो विमान पनि अहिलेसम्म विमानस्थलमै ग्राउन्डेड भएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले काठमाडौंबाट नारिता उड्ने तयारीमा सामान्य प्राविधिक समस्या देखिएको वाइडबडी विमान बिहीबार साँझसम्म मर्मत भइसक्ने अपेक्षा गरिएको बताइन् । उनले मंगलबारको उडानमा रोकिएका सबै यात्रुलाई बुधबार साँझ अर्को विमानबाट नारिता पठाइएको जानकारी गराइन् ।

यसैगरी, उनले कतारको दोहा विमानस्थलमा ग्राउन्डेड भएको न्यारोबडी विमान मर्मतमा भने अझै केही दिन समय लाग्ने बताइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीका क्रममा अकस्मात बिग्रिएर ग्राउन्डेड भएको निगमको वाइडबडी विमानमा प्राविधिक समस्या देखिपछि सो विमानका चालकले मंगलबार १ सय ३ जना यात्रुसहितको काठमाडौं-नारिता उडान स्थगित गर्नुपरेको बताएका थिए ।

निगमका प्रवक्ता खड्काले वाइडबडी विमानमा प्राविधिक समस्या देखिएपछि सो उडान स्थगित गरिएको र बुधबार साँझ अर्को विमान पठाउने व्यवस्था गरिएको जानकारी दिइन् । काठमाडौँबाट जापानको नारिता उड्ने तयारीमा रहेको वाइडबडी विमानमा प्राविधिक समस्या देखिएपछि मंगलबार राति १०ः५० बजेको उडान रोकिएपछि निगमले सो विमानका यात्रुलाई तारेहोटलमा लगेर राखेको थियो ।

प्रवक्ता खड्काका अनुसार सोही विमानले नारिताबाट काठमाडौं ल्याउने तयारीमा रहेका १ सय ७३ जना यात्रुलाई पनि त्यहाँको होटलमा लगेर राखिएको थियो । निगम स्रोतका अनुसार मंगलबारबाट कतारको दोहामा ग्राउन्डेड भएको न्यारोबडी विमान मर्मतका लागि झन्डै एक साता लाग्नेछ । यसैगरी, जापानको नारिता उड्ने तयारीमा बिग्रिएको वाइडबडी विमान मर्मतका लागि पनि अझै एक/दुईदिनको समय लाग्नेछ ।

एकै दिन अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटा विमान बिग्रिएर ग्राउन्डेड भएपछि अहिले एउटा न्यारोबढी र अर्को वाइडबडी गरी जम्मा दुईवटा विमान मात्र भएको निगमलाई हवाई टिकट खरिद गरेर बसेका र विभिन्न गन्तव्यका लागि विमानस्थल पुगेका यात्रुलाई उनीहरूको यात्रा गन्तव्यसम्म पुर्‍याउन निकै समस्या पर्ने भएको छ ।

बिग्रिएका यी विमान नबनेसम्मका लागि अब निगमले आफूसँग बाँकी भएका अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटा एयरवस ए ३२० न्यारोबडी र एयरवस ए ३३० वाइडबडी विमानबाट मात्र विभिन्न गन्तव्यमा यात्रा भर्ने यात्रुलाई सेवा दिनुपर्ने भएको छ । मंगलबारको उडानमा यात्रा गर्नुपर्ने यात्रुहरूको व्यवस्थापन गर्न होटलमा राख्नुपर्ने बाध्यात्मक अवस्थाले निगमको सञ्चालन खर्च समेत थप बढ्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७