जनमत पार्टीले गर्‍यो पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


१५ पुष २०७८, बिहीबार
ishwarpur1 20211228104528

राजविराज । जनमत पार्टीका कार्यकर्ताहरुले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीका विभिन्न स्थानमा बिहीबार बिहानदेखि राजमार्ग अवरुद्ध गरेका छन् ।

जिल्लाको भारदह, ठेलिया, महुली, रुपनी लगायतका स्थानमा उनीहरु सडकमै बसेका छन् भने टायर बालेर सडक अवरुद्ध समेत गरेका छन् । पार्टीले सञ्चालन गरेको किसान आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्दै जनमत पार्टीले आह्वान गरेको राजमार्ग बन्द कार्यक्रम अन्तर्गत सप्तरीका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध गरेको पार्टीका कार्यकर्ताहरुले बताएका छन् ।

सडकमै टायर बालेर जनमत पार्टीका कार्यकर्ताहरुले बाटो अवरुद्ध बनाउँदा पूर्व-पश्चिम हिँडेका सवारी साधनहरु राजमार्गमा अलपत्र परेका छन् । पार्टीबाट सञ्चालित किसान आन्दोलनका माग पूरा नभएसम्म अनिश्चितकालसम्म राजमार्ग बन्द जारी रहने जनमत पार्टी सप्तरीका सचिव थानेश्वर साहले बताए । उनले राजमार्ग अवरुद्ध गर्ने क्रममा एम्बुलेन्स, प्रेस, विद्यालय, ढुवानी लगायतका अत्यावश्यक साधनहरुलाई रोक नलगाइएको बताए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध रहेको र सम्झाइबुझाइ राजमार्ग खुलाउने प्रयास जारी रहेको बताए । राजमार्गमा ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७