प्रचण्डको प्रतिवेदनमा थप ६ समूहको निष्कर्ष प्रस्तुत


१५ पुष २०७८, बिहीबार
mawobadi 20211230073002

राजविराज । काठमाडौंमा जारी माओवादी केन्द्रको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेस गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी छ । बिहीबार बिहान ११ बजेबाट शुरु भएको बन्द सत्रमा ६ वटा समूहका प्रमुखहरुले प्रस्तुति राखेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो । अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महाराको निर्देशनमा अध्यक्ष मण्डलकी सदस्य पूर्णाकुमारी सुबेदीले बन्द सत्र सञ्चालन गरिरहेकी छन् ।

बिहीबारको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारीले समूहको प्रस्तुति राखेका थिए । त्यसपछि सल्लाहकारहरुको समूह क को तर्फबाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कणर्ाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामी, समूह नं. २२ बागमती प्रदेशको तर्फबाट समूह प्रमुख इन्द्रबहादुर थिङ ञछिन्ताङझले आफ्नो समूहको तर्फबाट प्राप्त सुझाव तथा टिप्पणी प्रस्तुत गरेका छन् ।

बुधबार ११ समूहले निष्कर्ष सुनाएपनि १४ समूहको बाँकी रहेको थियो । बन्द सत्रमा अब ८ वटा समूहको प्रस्तुति बाँकी छ । समूहगत निष्कर्ष सकिएपछि बन्दसत्रमा पुष्पकमल दाहाल ’प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ ।

समूह टोली नेताले समग्रमा अध्यक्षको दस्तावेज सही भए पनि केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने बताएका छन् । उनीहरुले वर्ग र नेपाली समाजबारे दस्तावेजमा विशेष रूपमा व्याख्या गर्न सुझाव दिएका छन् । समूहका टोली नेताले प्रचण्डपथ तत्कालीन समयको विचार भएकाले परिमार्जन गरेर ‘प्रचण्ड विचारधारा’ ल्याउनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७