प्रचण्डको प्रतिवेदनमा लेखनाथ न्यौपानेले राखे आठ बुँदे फरक मत


१५ पुष २०७८, बिहीबार
prachanda lekhnatha neupane

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको जारी महाधिवेशनको बन्द सत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।

बन्द सत्रमा समूहगत छलफलका क्रममा उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूणर् रहेको भन्दै आठ बुँदे फरक मत राखेका हुन् । उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेको र सोसम्बन्धी जानकारी टोली नेता जगत सिम्खडाले बन्द सत्रमा रिपोर्टिङ गराएको एक नेताले जानकारी दिए ।

दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै उनले फरक मत राखेको बताइएको छ । यस्तै सो समूहका केही प्रतिनिधिले लिखित सुझाव राखेको पनि बताइएको छ । माओवादी केन्द्रको जारी बन्दसत्रमा प्रचण्ड विचारधाराको विकास गर्नुपर्ने सुझाव पेस भएको छ । प्रचण्ड विचारधाराले माओवादीलाई पुनर्जीवन दिने र यही विचारधाराको नेतृत्वमा वृहत कम्युनिष्ट एकताको आह्वान गर्नुपर्ने सुझाव पेस भएको हो ।

सम्पर्क समन्वय विशेष प्रदेश समितिका टोली नेता श्रीकृष्ण अधिकारी (विवेक शर्मा) ले यो सुझाव पेश गरेका हुन् । प्रचण्डपथ तत्कालीन समयको विचार भएकाले अब त्यसलाई परिमार्जन गरेर ‘प्रचण्ड विचारधारा’ भन्नुपर्ने उनको सुझाव छ ।

पार्टी अध्यक्ष प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदन अग्रगामी रहेको समेत उनले बताए । ‘अहिले प्रचण्डको दस्तावेज आएको छ यो अग्रगामी मात्रै छैन अबको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने गरी आएको छ । अब यसलाई प्रचण्ड विचारधारा भनेर जाऔं,’ उनले भने । उनले भने, ‘प्रचण्ड विचारधाराको नेतृत्वमा वृहत कम्युनिस्ट एकताको आह्वान गरौं । यसले मात्रै माओवादीलाई पुनर्जीवन दिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७