माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशित गरिंदै


१५ पुष २०७८, बिहीबार
Prachanda 900

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका सार्वजनिक गर्ने भएको छ । केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।

बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र देवप्रसाद गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलको निष्कर्ष राख्ने काम सकिए लगत्तै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिए । ‘आज निर्वाचन कार्यतालिका प्रकाशित हुनेछ । मतदाता नामावली पनि सम्भव भएसम्म आजै प्रकाशित गर्छौं,’ उनले भने, ‘भोलि शुक्रबार उम्मेदवारी दर्ता गर्ने गरी तयारी भइरहेको छ । मतदान गर्नुपर्ने अवस्था आएमा भोलि नै मतदान हुनेछ ।’

माओवादीको अन्तरिम विधानले प्रतिनिधिहरूले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने व्यवस्था गरेको छ । माओवादीको ८ औं महाधिवेशनमा करिब एक हजार ७ सय प्रतिनिधि सहभागी छन् ।

केन्द्रीय समितिमा चयन भएकाहरूले पदाधिकारीको लागि उम्मेदवारी दिने र केन्द्रीय कमिटीमा निर्वाचित सदस्यहरूले पदाधिकारीका उम्मेदवारलाई मतदान गर्ने व्यवस्था माओवादीको विधानमा उल्लेख छ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७