भत्ताको रकम हात पार्न १७ वर्षीया नातिनीले ७४ वर्षीय हजुरबुबामाथि हानिन् खुकुरी


१५ पुष २०७८, बिहीबार

रुकुम । आफ्नै नातिनीको खुकुरी प्रहारबाट रुकुम बाँफिकोट गाउँपालिका-१ का ७४ वर्षीय दाना शाही घाइते भएका छन् । उनलाई ७ वर्षीया नातिनी उर्मिला मल्लले खुकुरी प्रहार गरेर घाइते बनाएकी हुन् ।

उर्मिला दानाकी छोरीकी छोरी हुन् । घाइते शाहीलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि चौरजहारी अस्पताल लगिएको छ । उनको गाला, दाहिने हात र देव्रे हातमा चोट लागेको छ ।

आफूसँग भएको पैसा लिने उद्देश्यले नातिनीले खुकुरी हानेको दानाले बताए । ‘मैले १२ हजार भत्ता बुझेको थिएँ,’ उनले भने ‘त्यही लिन आएकी उसले ममाथि खुकुरी हानी ।’ मंगलबार राति आफ्नो घरमा आएकी उर्मिलाले बुधबार बिहान आफूमाथि आक्रमण गरेको दानाले बताए । दाना लामो समयदेखि एक्लै बस्दै आएका छन् ।

नातिनी घरमै लुकेको थाहा पाएपछि रातभर नसुतेको र बिहापख नजिकै बसेकी नातिनीले खुकुरी हानेको उनले बताए । घाँटीमै हानेको खुकुरी आफूले छल्दा गाला र हातमा लागेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले खुकुरी प्रहार गर्ने उर्मिलालाई जिल्लामा ल्याएर अनुसन्धान थालिएको बताए । उर्मिला सानैदेखि बोल्न र सुन्न नसक्ने अवस्थाकी रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७