खानेपानी संस्थानको महाप्रबन्धकमा दौडधुप


१६ पुष २०७८, शुक्रबार
khanepani

काठमाडौं । खानेपानी संस्थानको महाप्रबन्धक नियुक्ति गर्न चलखेल सुरु भएको छ । करिब २ महिनादेखि रिक्त पदका लागि पूर्वमहाप्रबन्धकद्वय भूपेन्द्र प्रसाद, अर्जुनबाबु ढकाल र निमित्त महाप्रबन्धक ईश्वर प्रसाद शक्ति केन्द्र धाइरहेका छन् । भूपेन्द्र र ईश्वर दाजुभाइ हुन् ।

महाप्रबन्धकको दाबी गरिरहेका तीनै जना भने अनियमितता र भ्रष्टाचार काण्डमा मुछिँदै आएका छन् । निमित्त महाप्रबन्धक ईश्वर प्रसाद स्वतः दाबेदार मानिए पनि भूपेन्द्र प्रसाद र अर्जुनबाबु पुनः महाप्रबन्धक बन्न लबिङमा छन् ।

भूपेन्द्र र ईश्वर संस्थानको डीआई (डक्टाइन आइरन) पाइप खरिद प्रकरणमा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीआई पाइप खरिद अनियमिततामा संलग्न रहेको भन्दै २०७० पुस १८ गते उनीहरूमाथि विभागीय कारबाहीको सिफारिस गरेको थियो ।

डीआई पाइप खरिदमा तोकिएको योग्यता नपुगेको बोलपत्रलाई प्रभावग्राही भएको मूल्यांकनसहित स्वीकृतिका लागि सिफारिस गरेको भन्दै अख्तियारले उनीहरूमाथि कारबाहीको सिफारिस गरेको थियो । उक्त खरिदमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू कामु. उपप्रबन्धक ईश्वर, सहायक प्रबन्धक श्यामकृष्ण राजभण्डारी, सहायक प्रबन्धक रामकान्त पाण्डे, सहायक कानुन अधिकृत जानुकादेवी शिवाकोटी, सहायक सम्पत्ति अधिकृत कमल थापा र बोलपत्र स्वीकृत गर्ने तत्कालीन निमित्त महाप्रबन्धक भूपेन्दले पदीय कर्तव्य पालना नगरी अनुचित कार्य गरेको ठहर गर्दै अख्तियारले कारबाहीका लागि सिफारिस गरेको थियो । अख्तियारको आर्थिक वर्ष २०७०/७१ को वार्षिक प्रतिवेदनमै यो विषय उल्लेख छ ।

बुटवल र नेपालगन्जका लागि डीआई पाइप खरिद सम्बन्धमा खानेपानी मन्त्रालयले पनि छानबिन गरेको थियो । मन्त्रालयको छानबिन समितिले भूपेन्द्र, ईश्वर र त्रिदीपकुमार श्रेष्ठसमेतले भ्रष्टाचार गरेको ठहर गर्दै १० पेज लामो प्रतिवेदन तयार गरेको थियो । महाप्रबन्धकको पुन ः लविङ गरिरहेका ढकाल २०७० साउन १७ गते महाप्रबन्धक बनेका थिए । उनले कार्यसम्पादन मूल्यांकनमा आर्थिक वर्ष २०७१/७२ र २०७२/०७३ मा १०० मा ९/९ अंक मात्रै पाएका थिए। मन्त्रालय र ढकालबीच भएको सम्झौतामा आर्थिक वर्ष सकिएको ३ महिनाभित्र महाप्रबन्धकको वार्षिक प्रतिवेदन नै पेस गर्नुपर्ने उल्लेख थियो । तर, उनले आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदन नै पेस नगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड फर्किएका थिए ।

निमित्त महाप्रबन्धक ईश्वरका अनुसार कात्तिक पहिलो सातादेखि महाप्रबन्धक पद रिक्त छ । भूपेन्द्रको चार वर्षे कार्यकाल सकिएपछि महाप्रबन्धक खाली भएको हो । प्रकाशमानसिंह निकट निरण महर्जन तथा डेप्युटी म्यानेजर त्रिदेव श्रेष्ठ र प्रदीपकुमार मुडबरीलगायत महाप्रबन्धकको लबिङमा छन् ।

महाप्रबन्धक बन्न प्रधानमन्त्री शेरबहादुर देउवादेखि खानेपानीमन्त्री उमाकान्त चौधरीसम्म पुगेर लबिङ भइरहेको स्रोतले बतायो। ईश्वरको प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगेको छ । नेपाली कांग्रेसको महाधिवेशन उनले ठूलो सहयोग गरेकाले ईश्वरलाई महाप्रबन्धक बनाउने चलखेल सबैभन्दा अगाडि भएको स्रोतले बताएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७