सवारी दुर्घटनाले कुल राष्ट्रिय उत्पादनमा १.५२ प्रतिशत क्षति

साढे पाँच वर्षमा थपिए २६ हजार गम्भीर घाइते


१६ पुष २०७८, शुक्रबार

काठमाडौं । प्रहरीमा दर्ता भएको तथ्यांकलाई मात्रै आधार मान्दा नेपालमा हरेक वर्ष सरदर २५ सय व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । वार्षिक सरदर पाँच हजार व्यक्ति गम्भीर घाइते हुने गरेका छन् ।

यो आधारमा दैनिक औसत सात व्यक्तिको मृत्यु र १४ जना गम्भीर घाइते हुने गरेका छन् । दुर्घटनामा हुने अंगभंग र मानवीय क्षतिले बर्सेनि देशको कुल राष्ट्रिय उत्पादन (जिएनपी)को डेढ प्रतिशत क्षति हुने गरेको अध्ययनले देखाएको छ । नेपाल इन्जुरी अनुसन्धान केन्द्रले सन् २०१७ मा प्रहरीमा दर्ता भएका सवारी दुर्घटनामाथि अध्ययन गरेको थियो ।

कुल दुर्घटनाका १९.७ प्रतिशत मात्रै प्रहरीमा दर्ता भएको निष्कर्ष निकाल्दै केन्द्रले सोही वर्ष नेपालले १२२.८८ मिलियन अमेरिकी डलर अर्थात् १२ अर्ब ८० करोड ४० लाख रुपैयाँ (त्यतिवेलाकै दरअनुसार) गुमाएको देखाएको छ । यो रकम सन् २०१७ को स्थिर मूल्यको जिएनपी (आठ खर्ब ४२ अर्ब ३६ करोड ६७ लाख)को १.५२ प्रतिशतबराबर हो । प्रहरीमा दर्ता नभएका समेत सबै दुर्घटनाको मूल्यांकन गर्दा यो अंक चार प्रतिशतभन्दा धेरै पुग्ने केन्द्रका प्रमुख प्रा.डा. सुनीलकुमार जोशीले बताए ।

‘हामीले नेपाल प्रहरीमा दर्ता भएका सवारी दुर्घटनाका घटनालाई मात्रै लिएर मुलुकले प्रत्येक वर्ष व्यहोर्ने क्षतिको विवरण निकालेका हौँ । सबै दुर्घटनालार्ई आधार मानेर हिसाब निकाल्ने हो भने नेपालले प्रत्येक वर्ष व्यहोर्ने क्षतिको विवरण कुल जिएनपीको चार प्रतिशतभन्दा धेरै आउँछ,’ उनले भने ।

दुर्घटनाका मृतक र घाइतेका परिवारले व्यहोर्ने आर्थिक क्षति, उपचारका क्रममा भएको खर्च, दुर्घटनामा नपरेको भए जीवनभर उनीहरूले गर्न सक्ने आम्दानीलगायत विषयमा केन्द्रित भएर केन्द्रले अनुसन्धान गरेको थियो । सवारी दुर्घटनाका कारण मुलुकले प्रत्यक्ष स्वास्थ्य लागत (डाइरेक्ट मेडिकल कस्ट) तर्फ ९१.५७ मिलियन अमेरिकी डलर (११ अर्ब १७ करोड १५ लाख रुपैयाँ) र अप्रत्यक्ष स्वास्थ्य लागत (इनडाइरेक्ट मेडिकल कस्ट)तर्फ ११.५० मिलियन अमेरिकी डलर (एक अर्ब ४० करोड ३० लाख रुपैयाँ) गुमाएको अध्ययनले देखाएको छ । अनुसन्धानमा बेलायतस्थित युनिभर्सिटी अफ वेस्ट इङल्यान्डको सहयोग लिएको केन्द्रले जनाएको छ ।

अनुसन्धानमा संलग्न प्रा.डा. जोशी भन्छन्, ‘एउटा व्यक्ति सवारी दुर्घटनामा पर्दा सहनुपर्ने शारीरिक पीडा त छँदैछ, उसले ठूलो मात्रामा आर्थिक क्षति व्यहोर्नुपर्छ । उसका परिवारका सदस्यले पनि आर्थिक क्षति व्यहोर्नुपर्छ । यसबाट दुर्घटना पर्ने व्यक्तिको मात्र होइन, परिवारको समेत ‘प्रोडक्टिभिटी लस’ हुन्छ । हामीले अनुसन्धानमा यस्तै विषयलाई आधार बनाएका थियौँ ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि सवारी दुर्घटनाका कारण नेपालजस्ता मुलुकले प्रत्येक वर्ष कुल राष्ट्रिय उत्पादन (जिएनपी)को तीन प्रतिशतभन्दा धेरै क्षति व्यहोर्ने जनाएको छ । दुर्घटनामा पर्ने अधिकांश युवा नै भएकाले क्षतिको अंक बढी हुने गरेको डब्लुएचओले जनाएको छ ।
डब्लुएचओको तथ्यांक उद्धृत गर्दै स्वतन्त्र अभियान नेपालकी प्रमुख ऋतु भट्टले भनिन्, ‘नेपाल सवारी दुर्घटनाका कारण मृत्यु हुने र घाइते हुने मुलुकको अग्रस्थानमा छ । दुर्घटनाका अधिकांश घटना त प्रहरीमा दर्ता नै हुँदैनन् । यसबाट हाम्रो जस्तो मुलुकले प्रत्येक वर्ष जिएनपीको तीन प्रतिशतभन्दा धेरै क्षति व्यहोर्नुपर्छ । डब्लुएचओले समेत यो तथ्यलाई स्वीकार गरेको छ ।’

साढे पाँच वर्षमा थपिए २६ हजार गम्भीर घाइते
नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला ६५ महिना (पाँच वर्ष पाँच महिना)मा सवारी दुर्घटनामा मुलुकभर २६ हजार ६ सय पाँचजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शरीर अंगभंग हुनेलाई प्रहरीले गम्भीर घाइतेको सूचीमा राखेको छ । यस्ता घाइतेलाई जीवन गुजार्न अर्को व्यक्तिको सहयोग आवश्यक पर्छ । यीमध्ये थोरै मात्रै संघसंस्थाको संरक्षणमा रहन्छन्, अरू सबै परिवारकै आश्रयमा हुन्छन् ।

सवारी दुर्घटनाकै कारण ह्विलचेयरको सहारामा जीवन बिताउँदै आएका पत्रकार गजेन्द्र बुढाथोकी सबै घटना प्रहरी कार्यालयमा दर्ता हुने हो भने प्रत्येक वर्ष गम्भीर घाइतेको संख्या अझ धेरै हुने बताउँछन् । त्यसमध्ये पाँच सय व्यक्ति स्पाइनल कर्ड इन्जुरीको समस्याबाट गुज्रिनुपर्ने र पाँच हजार अपांग नै हुने उनको विश्लेषण छ । जसकारण प्रत्येक वर्ष राज्यले ठूलो रकम गुमाउनुपरेको बुढाथोकीको भनाइ छ ।

सवारी दुर्घटनाका मुख्य कारण

  • डब्लुएचओका अनुसार दु्रत गति नै सवारी दुर्घटनाको मुख्य कारण हो । ५० देखि ६५ किमि प्रतिघन्टाको दरमा गुडेको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर मार्ने सम्भावना ४.५ गुणा धेरै हुन्छ ।
  • ६५ किमि प्रतिघन्टाका दरले गुडेका गाडी एक-आपसमा ठोकिँदा गाडीको अगाडि बस्ने मानिस मर्ने सम्भावना ८५ प्रतिशतले बढ्छ ।
  • एक प्रतिशत मात्रै गति बढाउँदा दुर्घटनापछि मर्ने सम्भावना चार प्रतिशतले बढ्छ भने गम्भीर घाइते हुने सम्भावना तीन प्रतिशतले बढ्छ ।
  • तथ्यांकअनुसार मादकपदार्थ सेवन गर्ने चालकले सामान्य व्यक्तिले भन्दा सवारी दुर्घटना गराउने सम्भावना पाँच गुणा धेरै हुन्छ ।
  • हेल्मेटको सही सदुपयोग गर्दा दुर्घटनामा हुने मृत्युदर ४२ प्रतिशतले घटाउन सकिन्छ । त्यस्तै, टाउकोमा चोट लाग्ने दरलाई ६९ प्रतिशतले घटाउन सकिन्छ ।
  • सिटबेल्टको सही प्रयोग गर्दा चालक र अघिल्लो सिटमा बस्ने यात्री दुर्घटनामा परेर मृत्यु हुने सम्भावना ४५ देखि ५० प्रतिशतले घट्छ ।
  • मोबाइल फोन प्रयोग गरेर सवारी चलाउने चालकले दुर्घटना गराउने सम्भावना सामान्य चालकको भन्दा चार गुणा बढी हुन्छ ।
  • सडक वैज्ञानिक तवरले नबनाइँदा पनि दुर्घटना हुने सम्भावना धेरै हुन्छ ।
  • सवारीसाधनको नियमित परीक्षण नहुँदा दुर्घटना हुने सम्भावना धेरै हुन्छ ।
  • लाइसेन्स वितरण प्रणाली वस्तुगत नहुँदा दुर्घटना हुने सम्भावना धेरै हुन्छ ।
  • ट्राफिक लाइट, ट्राफिक सिग्नल, जेब्राक्रसको सही प्रयोग नहुँदा पनि दुर्घटनाको दर बढ्छ ।

के हो कुल राष्ट्रिय उत्पादन (जिएनपी) ?
कुनै देशले निश्चित अवधिमा उत्पादन गरेको वस्तु तथा सेवाको कुल अनुमानित आयको अन्तिम गणना नै कुल राष्ट्रिय उत्पादन (जिएनपी) हो । यसमा सामान्यतया, व्यक्तिगत खपतमा भएको खर्च, घरेलु औद्योगिक लगानी, सरकारी खर्च, खुद निर्यातका अतिरिक्त विदेशमा कमाएर भित्र्याएको रेमिट्यान्स र लाभांश समेत समावेश गरिन्छ ।

तर, विदेशीले नेपालमा आर्जन गरी बाहिर लगेको रकमलाई घटाइन्छ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा एक वर्षको सम्पूणर् राष्ट्रिय उत्पादन, खर्च र आम्दानी समावेश भएको हुन्छ भने जिएनपीमा जिडिपीका साथै विदेशबाट भित्र्याएको आम्दानीसमेत समावेश गरिन्छ । नेपालमा खोलिएको विदेशी कम्पनीले यहाँ उत्पादन गरेको वस्तुको मूल्य नेपालको जिडिपीमा समेटिन्छ । तर, उसले उक्त उत्पादनको मूल्य आफ्नो देशमा लगेको छ भने जिएनपीमा त्यसलाई घटाइन्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७