टेस्ट क्रिकेटबाट डि ककको सन्यास घोषणा

काठमाडौं । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डि ककले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आफ्नो परिवारलाई थप समय दिन भन्दै डि ककले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । डि कक केही समयमा नै बाबु बन्न लागेको बीबीसीले उल्लेख गरेको छ । बिहीबार दक्षिण अफ्रिका भारतसँग फराकिलो अन्तरले पराजित भएसँगै डि ककले यस्तो घोषणा गरेका हुन् ।


उनले भनेका छन्, ‘मेरो लागि परिवार नै सबैथोक हो र म हाम्रो जीवनको नयाँ र उत्साहित अध्यायमा उनीहरुलाई आफ्नो धेरै समय र साथ दिन चाहन्छु ।’ २९ वर्षीय डि ककले सन् २०१४ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । उनले यो फरम्याटमा ३३ सय रन प्रहार गरेका छन् भने ६ शतक र २२ अर्धशतक प्रहार गरेका छन् ।
डि ककले आफूले आगामी दिनमा एक दिवसीय र टी २० मा ध्यान केन्द्रित गर्ने र आफ्नो देशको लागि उत्कृष्ट प्रदर्शनको प्रयास गर्ने उल्लेख गरेका छन् ।