डा. केसीको उजुरीपछि प्रधानन्यायाधीश परिवारको सम्पत्ति छानविन गर्न तोकिए अनुसन्धान अधिकृत


१६ पुष २०७८, शुक्रबार
cholendra

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारको नाममा रहेको सम्पत्ति छानविन गर्न दुई अनुसन्धान अधिकृत तोकेको छ । उपसचिव कृष्ण मैनाली र शाखा अधिकृत मोहन ढकाललाई अनुसन्धान अधिकृत तोकिएको हो ।

जबराले अकुत सम्पत्ति आर्जन गरेको र कसुरजन्य गतिविधिबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको भन्दै नागरिक अगुवाहरूले छानबिन माग गरेर आइतबार विभागमा ध्यानाकर्षणपत्र बुझाएका थिए । डा. गोविन्द केसीको नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाएका नागरिक अगुवाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले सम्बद्ध कसुर मानेका गैरकानुनी गतिविधिमा जबरा संलग्न भएको आरोप लगाएका छन् ।

विभागले अहिले प्रधानन्यायाधीशका परिवारका सदस्य र सम्बद्ध व्यक्तिहरूमाथि अनुसन्धान र छानबिन गर्नेछ । पदमा छउन्जेल प्रधानन्यायाधीशमाथि भने विभागले छानबिन गर्न मिल्दैन । अनुसन्धान टोलीले प्रारम्भिक चरणमा सूचना संकलन गर्नेछ । यसबाट प्राप्त सूचनाका आधारमा परिवारका सदस्य, नातेदार तथा सम्बद्ध व्यक्तिहरूमाथि बयान हुनेछ । अनुसन्धानका लागि आवश्यक परे विभागले सम्पत्ति परिचालन तथा व्यवस्थापन हुने बैंक तथा वित्तीय संस्था, घरजग्गा, सुनचाँदीलगायतका क्षेत्र हेर्ने निकायहरूबाट सहयोग लिनेछ  ।

जबराले आफूसहित श्रीमती, भाइ, परिवारका अन्य सदस्य तथा नातेदारमार्फत बिचौलियाको काम गराएको, उनीहरूको नाममा सम्पत्ति लुकाएको र गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेकाले उनीमाथि छानबिन हुनुपर्ने नागरिक अगुवाहरूको माग छ  ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७